ब्यालेटको सुरक्षाका लागि बुलेट प्रयोग हुन सक्छ :मोरङका सिडिओ

२०८२ फागुन १८ गते

ब्यालेटको सुरक्षाका लागि बुलेट प्रयोग हुन सक्छ :मोरङका सिडिओ

विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न आमसञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।


नेपाल पत्रकार महासङ्घ मोरङ र प्रदेश निर्वाचन कार्यालय विराटनगरद्वारा आज विराटनगरमा आयोजित निर्वाचन र आम सञ्चार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सञ्चार माध्यमहरूले निर्वाचन आचार संहिताको उल्लङ्घन विषयमा सुक्षम रिपोर्टिङ गर्दै निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्न सहयोग पुर्‍याउनुपर्ने बताए । 

Advertisement:

Ad
Ad

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचनको दिनका लागि मतदाता, मतदान सामाग्री, मतपेटिका, कर्मचारीको सुरक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन गरी एकीकृत सुरक्षा योजना अनुसार मोरङ जिल्लामा आठ हजार प्रहरी परिचालन गरिएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटुवालले एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सामाग्री र मतपेटिकाको सुरक्षाका लागि आवश्यक परेमा ‘ब्यालेटको सुरक्षाको लागि बुलेट ’समेत प्रयोग गर्न सकिने बताए । 

शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने गरी सबै व्यवस्था मिलाइएकाले निर्धक्क भएर निर्वाचनमा सहभागी हुन सर्व मतदाताहरूलाई उनले आग्रह गरे ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख तोयानाथ उप्रेतीले आचार संहिताको पालनमा सचेत र सजग रुपमा कार्यान्वयन गराएको बताए।

नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष सुशिला पाठक, उपाध्यक्ष सन्तोष सिग्देल र सचिव  नेत्र पि अधिकारीले निर्वाचनलाई सभ्य, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न महासङ्घले आचार संहिता पालना गरिरहेको बताए ।