उत्सवको रुपमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको लर्को छ, तोकिएकै मितिमा चुनाव हुन्छ : सञ्चारमन्त्री

२०८२ मंसिर ०९ गते

उत्सवको रुपमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको लर्को छ, तोकिएकै मितिमा चुनाव हुन्छ : सञ्चारमन्त्री

दोलखा । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले तोकिएकै मिति फागुन २१ मा निर्वाचन हुने बताएका छन् । राजनीतिक दलहरू पनि तयार छन्, निर्वाचन आयोगले पनि सबै तयारी गरिसकेको छ त्यसैले तोकिएकै मितिमा निर्वाचन हुने कुरामा कुनै आशङ्का छैन– मन्त्री खरेलले भने ।

 

Advertisement:

Ad
Ad

नेपाल पत्रकार महासङ्घ दोलखा शाखाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सञ्चार मन्त्री खरेलले मतदाता नामावलीमा नाम दर्ता गर्ने काम उत्सवको रुपमा अघि बढेको समेत बताए। मन्त्री खरेलले भने– मतदाता नामावलीमा नाम दर्ता गर्ने काम उत्सवको रुपमा अघि बढेको छ, आठ लाख भन्दा बढी मतदाता थपिएका छन् ।

 

मन्त्री खरेलले कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाग लिन्न नभनेको र सरकार सुरक्षाको लागि सहयोगी रहेकोले निर्वाचन हुने कुरामा कुनै आशङ्का नरहेको बताए । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला दोलखा आएका मन्त्री खरेल स्वागत तथा सम्मानबाट उत्साहित बनेका थिए । उनले दोलखाको विकासको लागि पर्यटनको विकास महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको नेतृत्व स्वतन्त्र संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासङ्घले लिनुपर्ने बताए ।

 

आइतबार गृहजिल्ला दोलखा आएका मन्त्री खरेलले जिल्लास्थित कार्यालय प्रमुखहरूसँग भेटघाट गरेका थिए । मन्त्री खरेल आफूले अध्ययन गरेको दोलखाको कालिन्चोक गाउँपालिका स्थित कालिनाग माध्यमिक विद्यालय सुनखानीले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा समेत सहभागी भएका थिए ।