कृषि विकास बैंकको खुद नाफामा गिरावट,सञ्चालन खर्च र अधिक तरलता मूख्य चुनौति

२०८२ माघ १५ गते

कृषि विकास बैंकको खुद नाफामा गिरावट,सञ्चालन खर्च र अधिक तरलता मूख्य चुनौति

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद मुनाफा गत वर्षको पुस मसान्तभन्दा यस आर्थिक वर्षमा २६ प्रतिशतले कम नाफा आर्जन गरेको छ । बैंकले ६ महीनामा ७० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने गत आर्थिक वर्ष बैंकको खुद मुनाफा ९५ करोड ७५ लाख रहेको थियो । संस्थागत सुशासन, कर्जाको गुणस्तर कायम गर्न नसक्नु,तरलता व्यवस्थापन बैंकको मूख्य चुनौति रहेका छन् । 

 

Advertisement:

Ad
Ad

खुद नाफा घटेको भए पनि तथ्यांक अनुसार बैंकको आम्दानीमा भने बढोत्तरी नै देखिएको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको पुस मसान्तको तुलनामा चालू आवको पुस मसान्तमा ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँबाट बढेर ४ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

 

त्यसैगरी समीक्षा अवधिमा खुद फी तथा कमिशन आम्दानी ६१ करोड ७४ लाख रुपैयाँबाट बढेर ६२ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ४ अर्ब ८६ करोड ८८ लाख रुपैयाँबाट बढेर ५ अर्ब २२ करोड ११ लाख रुपैयाँ पुगेको छ। आम्दानी बढे तापनि बैंकको सञ्चालन नाफा भने १ अर्ब ३४ करोड ७७ लाख रुपैयाँबाट घटी १ अर्ब ९२ लाख रुपैयाँमा झरेको छ।

 

त्यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ११.४७ रुपैयाँबाट घटी ९.८९ रुपैयाँमा झरेको छ भने बैंकको निष्क्रिय कर्जा पनि ४.९० प्रतिशतबाट ४.६५ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २२४.३७ रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा ७१ करोड ९८ लाख रुपैयाँ रहेको छ।

 

चुक्ता पूँजी १९ अर्ब ७३ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा करीब ७२ करोड रुपैयाँ र रिजर्भमा १७ अर्ब ७ करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकले २ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब २३ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।