२०८२ चैत ०२ गते
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुले आफ्नो मृत्यु भएको भन्ने झूटो हल्ला फैलिएपछि इजरायलकै एक क्याफेबाट भिडियो सार्वजनिक गर्दै आफू जीवित रहेको प्रमाणित गरेका छन्। उनले जेरुसेलम नजिकको एउटा क्याफेमा बसेर कफी अर्डर गरेको भिडियो पोस्ट गरेका हुन्।
भिडियोमा नेतन्याहू कर्मचारी र ग्राहकहरूबीच बसेका देखिन्छन्। उनले क्यामेरासामु दुवै हात देखाउँदै पाँचसम्म गनेका छन् र मजाक गर्दै कफी पिउन मन लागेको बताएका छन्। यसरी उनले सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई खण्डन गरेका हुन्।
मार्च १३ मा भएको एक प्रेस सम्मेलनको स्क्रिनसटमा हातको छायाँका कारण छैटौँ औंला देखिएको जस्तो भ्रम सिर्जना भएपछि इरान समर्थित केही टेलिग्राम च्यानल र एक्स खाताहरूले नेतन्याहूको मृत्यु भइसकेको र उनको सट्टा एआईबाट बनाइएको ‘डीपफेक’ प्रयोग गरिएको दाबी गरेका थिए।
तर तथ्य जाँच गर्ने संस्थाहरू स्नुप्स्, लिड स्टोरिज र पोलिटीफ्याक्टले उक्त दाबी गलत भएको पुष्टि गरेका छन्। उनीहरूका अनुसार भिडियोको एक फ्रेममा देखिएको छायाँका कारण मात्र यस्तो भ्रम उत्पन्न भएको हो।
नेतन्याहूको कार्यालयले पनि क्याफेमा खिचिएको भिडियो वास्तविक भएको पुष्टि गरेको छ।
प्रतिक्रिया