२०८२ चैत ०४ गते
काठमाडौँ । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एकपछि अर्को गर्दै तीब्र दबाब परिरहेको छ। आफ्ना सहयोगी देशहरूले सैन्य सहयोगको अपिललाइ अस्वीकार गरिरहँदा ट्रम्पलेनै नियुक्ति दिएका एक वरिष्ठ अमेरिकी गुप्तचर अधिकारीले इरानसँगको युद्ध गलत भएको भन्दै पदबाट राजीनामा दिएका छन्।
नेशनल काउन्टरटेररिज्म सेन्टरका निर्देशकका रूपमा कार्यरत जोभ केन्टले मंगलबार अचानक पद छोड्ने घोषणा गरेका हुन्। उनले एक्समा आफ्नो राजीनामा पत्र सार्वजनिक गर्दै युद्ध सुरु गर्नुको आधारमै प्रश्न उठाएका छन् र ट्रम्पलाई युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।
उनले लेखेका छन्,’मेरो अन्तःकरणले स्वीकार नगर्ने भएकाले म इरानसँगको जारी युद्धलाई समर्थन गर्न सक्दिनँ। इरानले हाम्रो देशलाई तत्काल कुनै खतरा दिएको थिएन र स्पष्ट छ कि हामीले यो युद्ध इजरायल र अमेरिकामा रहेको उसको शक्तिशाली लबीको दबाबमा सुरु गरेका हौँ।’
यो राजीनामा ट्रम्प प्रशासन भित्रबाट आएको अहिलेसम्मकै सबैभन्दा उच्च र ठूलो आलोचनामध्ये एक मानिएको छ। केन्टको भनाइले विवाद सिर्जना गरेको छ, र केहीले उनलाई यहूदीविरोधी भएकाले टिप्पणी गरेको आरोप पनि लगाएका छन्।
युद्ध किन सुरु भयो भन्ने प्रश्न फेरि उठ्यो?
यस घटनाले अमेरिका किन युद्धमा गयो भन्ने प्रश्न फेरि उठाएको छ। केही सांसद र विज्ञहरूले पहिले नै गुप्तचर सूचनामाथि शंका व्यक्त गर्दै आएका थिए, र केन्टको भनाइले उनीहरूको आलोचनालाई थप बल पुर्याएको छ। केन्टले सोमबार उपराष्ट्रपति जेजी भान्ससँग भेट गरी आफ्नो चिन्ता व्यक्त गरेका थिए। त्यस भेटमा राष्ट्रिय गुप्तचर निर्देशक तुल्सी गवर्दपनि उपस्थित थिइन्।
ट्रम्पले भने केन्टको राजीनामालाई ‘राम्रो कुरा’ भन्दै उनको आलोचना गरे। उनले भने,’यदि कसैले इरानलाई खतरा मान्दैन भने हामीलाई त्यस्ता मानिस चाहिँदैनन्। उनीहरू बुद्धिमान वा सक्षम छैनन्।’
तत्काल खतरा थियो कि थिएन ?
ट्रम्पले इरानबाट ‘तत्काल खतरा’ भएको दाबी गर्दै आक्रमणको औचित्य प्रस्तुत गरेका थिए। तर पेन्टागनले संसदमा दिएको जानकारीअनुसार, इरानले पहिले आक्रमण नगरेसम्म आक्रमण गर्ने योजना बनाएको थिएन।
केन्टले इजरायली अधिकारी र मिडियाले ट्रम्पलाई भ्रममा पारेको आरोप लगाए। उनले लेखे,’यो एउटा झुट थियो। यस्तै तरिका प्रयोग गरेर हामीलाई इराक युद्धमा तानिएको थियो, जसले हजारौँ अमेरिकीको ज्यान लियो। हामी फेरि त्यही गल्ती गर्न सक्दैनौँ।’
ग्याबार्डले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै अन्ततः खतरा के हो भन्ने निर्णय गर्ने अधिकार राष्ट्रपति ९कमाण्डर(इन(चीफ०सँग हुने बताइन्। यता रिपब्लिकन सांसद डोन बास्कोनले केन्टको राजीनामाको स्वागत गर्दै यहूदीविरोधी सोच सरकारमा स्वीकार्य नभएको बताए।
केन्ट लामो समयसम्म सेना र गुप्तचर क्षेत्रमा कार्यरत थिए। उनले २० वर्षको सैन्य सेवामा ११ पटक युद्ध क्षेत्रमा काम गरेका थिए र पछि सीआइएमा पनि सेवा गरेका थिए। उनकी पहिलो पत्नी सन् २०१९ मा सिरियामा आत्मघाती हमलामा मारिएकी थिइन्। तर विगतमा केही अतिदक्षिणपन्थी व्यक्तिहरूसँगको सम्बन्धका कारण उनी आलोचित पनि भएका थिए।
यो घटना अमेरिकी राजनीतिमा ठूलो मोडका रूपमा हेरिएको छ। एकातिर प्रशासनभित्रैबाट युद्धको विरोध बढ्दै गएको देखिन्छ भने अर्कोतिर अझै पनि ठूलो राजनीतिक समर्थन कायम छ। यसले इरान युद्धको औचित्य, गुप्तचर सूचनाको विश्वसनीयता र अमेरिकी विदेश नीतिबारे गम्भीर बहसलाई थप तीव्र बनाएको छ।
प्रतिक्रिया