उपहार खरिदमा अनियमितता गरेको आरोपमा इमरान खान दम्पत्तीलाई १७–१७ वर्षको जेल सजाय

२०८२ पुस ०६ गते

उपहार खरिदमा अनियमितता गरेको आरोपमा इमरान खान दम्पत्तीलाई १७–१७ वर्षको जेल सजाय

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ ।

तोशाखाना अनुसन्धानसँग जोडिएको मुद्दामा शनिबार २० डिसेम्बरको दिन अदालतले खान दम्पतीलाई समान १७ वर्ष जेल सजाय सुनाएको हो । १७–१७ वर्षको जेल सजायसँगै अदालतले इमरान खान र बुशरा बीबीलाई १ करोड ६४ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेको छ ।

Advertisement:

Ad
Ad


यो फैसला रावलपिण्डीस्थित अडियाला जेलमै बसेको विशेष अदालतले सुनाएको हो । इमरान खान हाल यही जेलमा थुनामा छन् ।खान दम्पत्तीमाथि देशले प्राप्त गरेको उपहार खरिद गर्दा अनियमितता गरेको आरोप छ । पाकिस्तानमा तोशाखाना प्रणालीअन्तर्गत विदेशबाट प्राप्त उपहारहरू राज्यको खजानामा बुझाउनुपर्ने वा तोकिएको मूल्य तिरेर खरिद गर्नुपर्ने व्यवस्था छ ।

आरोप अनुसार, इमरान खान र बुशरा बीबीले २०२१ मा साउदी युवराजबाट प्राप्त बुलगारी ब्रान्डको आभूषण सेट अत्यन्तै कम मूल्यमा खरिद गरेका थिए ।

अभियोजन पक्षका अनुसार करिब ३ लाख ८० हजार युरो मूल्य पर्ने उक्त सेट उनीहरूले करिब २९ लाख पाकिस्तानी रुपैयाँमै लिएका थिए, जसका कारण सरकारी ढुकुटीमा करोडौं रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको छ ।