२०८२ चैत २३ गते
काठमाडौं । आन्तरिक उडानतर्फ सबैभन्दा व्यस्त गन्तव्य काठमाडौं–पोखरा मार्गमा यात्रुको चाप उच्च रहँदै आएको छ। वायुसेवा कम्पनीहरूले दैनिक धेरै उडान सञ्चालन गरे पनि टिकट मूल्य भने कर र विभिन्न शुल्कका कारण महँगो भएको देखिएको छ।
सरकारले २०७३ सालमा तोकेको दरअनुसार काठमाडौं–पोखराको न्यूनतम आधारभूत भाडा ९१२ रुपैयाँ मात्र हो। तर यसमा १३ प्रतिशत भ्याट, ३ हजार ९८५ रुपैयाँ इन्धन शुल्क र ५ सय रुपैयाँ यात्रु सेवा शुल्क थपिँदा कुल न्यूनतम भाडा ५ हजार ५१५ रुपैयाँ पुग्छ। इन्धन शुल्क वृद्धि भएसँगै हाल यात्रुले ६ हजार रुपैयाँभन्दा कममा टिकट पाउन कठिन भएको छ।
अधिकतम आधारभूत भाडा ३ हजार ६४७ रुपैयाँ तोकिएको छ। सबै कर तथा शुल्क जोड्दा यो भाडा ८ हजार ६०५ रुपैयाँसम्म पुग्न सक्छ। वायुसेवा कम्पनीहरूले भने सरकारद्वारा निर्धारण गरिएको न्यूनतम–अधिकतम सीमाभित्रै भाडा निर्धारण गरिरहेको दाबी गरेका छन्।
कम्पनीहरूको भनाइ अनुसार कुल भाडामध्ये कर, इन्धन र सेवा शुल्कमै ६५–७० प्रतिशत खर्च हुन्छ भने कम्पनीको वास्तविक आम्दानी ३०–४५ प्रतिशत मात्र रहने गर्छ। न्यूनतम भाडामा त यो हिस्सा अझै कम हुने बताइएको छ।
यही संरचना अन्य गन्तव्यमा पनि लागू हुने गरेको छ। उदाहरणका लागि, काठमाडौं–धनगढी उडानमा न्यूनतम भाडा करिब १४ हजार ४५७ रुपैयाँदेखि सुरु भई अधिकतम २३ हजार रुपैयाँसम्म पुग्ने गरेको छ।
यसरी आधारभूत भाडा कम देखिए पनि कर र अतिरिक्त शुल्कका कारण आन्तरिक हवाई यात्रा यात्रुका लागि महँगो बन्दै गएको गुनासो बढ्दो छ।
प्रतिक्रिया