२०८२ फागुन २४ गते
काठमाडौँ । फागुन २१ को निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।यसैबीच सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसका सभापति गगनकुमार थापा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहसँग भारी मतान्तरले पराजित भएका छन् ।सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका गगनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेशकुमार सिंहले १२ हजार ८५७ मतको भारी अन्तरले पछि पारेका हुन् ।
सुधारिएको भनिएको नेपाली कांग्रेसका सभापतिनै पराजित भएपछि कांग्रेस बिक्षिप्त बनेको छ । मतगणना शुरु भएदेखिनै गगन चुपचाप रहे भने उपसभापति विश्वप्रकाश शर्माले पार्टी पंङ्तिलाई सम्हालिन भिडियो सन्देश सार्वजनिक गर्दै आएका छन् ।
मत परिणाम सार्वजनिक भएपछि गगनले हार स्विकार्दै प्रतिस्पर्धी अमरेशलाई बधाई दिएका छन् । हारप्रति चिन्तित नहुन भन्दै पति गगनलाई उनकी पत्नी अञ्जना केसीले सान्त्वना तथा ढाडस दिएकी छिन् ।अञ्जनाले सामाजिक सञ्जालमा एउटा निर्वाचनको परिणामले बिचलित नहुन आग्रह गरेकी छिन् । उनले गगनको राजनीतिप्रतिको निष्ठा र इमान्दारिताको ओज अझ बढेको उल्लेख गरेकी छिन्, यस्तो छ उनको स्ट्याटस-
प्रिय गगन,
आज शब्दहरू तिम्रो मेहेनतको अगाडि निकै साना महसुस भइरहेका छन्। तिम्रो त्यो अथक परिश्रम, जनताको घरदैलोमा पुग्दाको तिम्रो त्यो ऊर्जा, र परिवर्तनका लागि तिमीभित्र बलेको त्यो आगो, यी सबै कुराको साक्षी म छु।
तिमीले आफ्नो तर्फबाट कुनै कसर बाँकी राखेका थिएनौ। तिम्रो प्रयासमा कुनै खोट थिएन, मात्र समय र परिस्थितिले आज अर्कै बाटो रोज्यो।
हार र जित त सिक्काका दुई पाटा हुन् गगन, तर ुनिष्ठाु सबैको भागमा हुँदैन। आजको यो चुनावी परिणामले तिम्रो कदलाई घटाउन सक्दैन। कतिपय मानिसहरू पदका लागि राजनीति गर्छन्, तर तिमीले त राजनीतिका लागि आफ्नो जीवन नै समर्पित गर्यौ। यो एउटा निर्वाचनको हार मात्र हो, तिम्रो विचार र तिम्रो भिजनको हार होइन।
निर्वाचनको एउटा अंकगणितले तिम्रो उचाई नाप्न सक्दैन गगन। तिमी एउटा नाम मात्र होइनौ, तिमी त यो देशका हजारौँ युवाहरूको धड्कन हौ, एउटा भरोसा हौ। एउटा युद्ध हार्दैमा योद्धा सकिँदैन, बरु ऊ अझ परिपक्व र बलियो भएर उभिन्छ। आज तिम्रो अनुहारमा देखिएको त्यो थकाइ हारको संकेत होइन, यो त एउटा लामो र महान यात्राको विश्राम मात्र हो।गगन, तिमी जस्तो मान्छे ओइलाउनु हुँदैन।
तिमी नथाक, किनकि तिमी थाक्यौ भने यो देशको एउटा ठूलो सपना थाक्नेछ। तिम्रो आवाजले सदनमा मात्र होइन, अब हरेक नेपालीको मन-मनमा न्याय र परिवर्तनको झिल्को बाल्नुपर्छ। हिजो तिमी एक्लै थियौ होला, आज तिमीसँग तिम्रो विचार र भिजनले बाँधिएका लाखौँ मनहरू छन्।विश्राम लेऊ, आफैलाई फेरि बटुल, तर याद राख, यो देशलाई तिम्रो खाँचो सकिएको छैन, बरु अझ बढेको छ।तिम्रो निष्ठा र तिम्रो अजेय यात्रामा मलाई सधैँ गर्व थियो, छ र सधैँ रहनेछ।तिमी फेरि उठ्नेछौ, किनकि तिमी गगन हौ, जसलाई कुनै सीमाले छेक्न सक्दैन।
प्रतिक्रिया