२०८२ पुस २७ गते
काठमाडौँ । श्रीमानको नेतृत्वमा नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएपछि महामन्त्री गगन थापाकी पत्नी अञ्जना केसीले फेसबुकमार्फत भावनात्मक सन्देश व्यक्त गरेकी छन्। उनले पार्टी रूपान्तरणका लागि गगनले उठाएको कदम जोखिमपूर्ण भए पनि उनी एक्लो नभएको उल्लेख गर्दै निरन्तर अघि बढ्न हौसला दिएकी हुन्।
काठमाडौंको भृकुटीमण्डपमा आइतबार विशेष महाधिवेशनको उद्घाटन भएको हो। यसअघि नियमित महाधिवेशनको पक्षमा रहेका सभापति देउवानिकट नेताहरू पनि विशेष महाधिवेशनतर्फ उभिएपछि यसको पक्षधरहरू उत्साहित देखिएका छन्। पार्टीका ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित माग गरिएको विशेष महाधिवेशनलाई समय कटाएर निष्क्रिय बनाउने प्रयास भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए।
श्रीमानलाई हौसला दिँदै अञ्जना केसीले लेखेकी छन्, “मलाई थाहा छ जोखिम ठूलो छ र तपाईंले लिइरहनुभएको जोखिमको गहिराइ म बुझ्छु। तर कृपया सम्झनुहोस्, तपाईं एक्लो हुनुहुन्न। भोलिको राम्रो नेपालको सपना देख्ने असंख्य मानिसहरूको आशा र समर्थन तपाईंको साथमा छ। आज तपाईंले देखाउनुभएको साहस र मानिसहरूले तपाईंमाथि राखेको माया र विश्वास व्यर्थ जाने छैन। यो क्षण महत्वपूर्ण छ, तपाईंको आवाजको मूल्य छ, र परिवर्तनप्रतिको तपाईंको प्रतिबद्धता अर्थपूर्ण छ। म तपाईंमाथि गर्व गर्छु, तपाईंलाई माया गर्छु। अगाडि बढ्नुस्।”
प्रतिक्रिया