रातभरीमा पनि भएन सहमति : शेरबहादुरले नेतृत्व छाड्न तयार भएनन्, निर्वाचनमै मोडियो विशेष महाधिवेशन

२०८२ पुस ३० गते

रातभरीमा पनि भएन सहमति : शेरबहादुरले नेतृत्व छाड्न तयार भएनन्, निर्वाचनमै मोडियो विशेष महाधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ । रातभरका विभिन्न चरणका वार्तापछि पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि निर्वाचनमार्फत नै पार्टीको नीति र नेतृत्व परिवर्तन गरिने विशेष महाधिवेशन पक्षधरले स्पष्ट पारेको छ । 


विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापनले अन्तिम वार्ताको प्रयास गरिरहेकाले त्यसलाई पनि मध्यनजगर गर्दै कार्यक्रम अगाडि बढाइएको बताए । उनले भने, ‘हाम्रो निर्वाचनको तालिका यथावत् छ । उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने आएको छ । हामी त्यसलाई पनि सम्मान गर्छौँ । यदि सहमति नभए हाम्रो कार्यक्रम अगाडि बढ्छ ।’

Advertisement:

Ad
Ad

पोखरेलले मंगलवार बेलुकी नै विशेष महाधिवेशनस्थल स्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार राति पनि सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गरिने स्पष्ट पारेका थिए । 

उनले संस्थापन पक्ष विशेष महाधिवेशनको अपनत्व लिन तयार भए पनि सभापति देउवा नेतृत्व छोड्न तयार नभएको उल्लेख गर्दै सो कुरा आफूहरूको लागि स्वीकार्य नरहेको बताए । 


महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन मंगलबार साँझ पारित भएसँगै बन्द सत्र समापन गरिएको थियो । यसैबिच विशेष महाधिवेशन पक्षधर नेताहरूले पदाधिकारीको खाकासमेत तयार गरिरहेको जनाइएको छ । 

 

बुधबार बिहान वार्ताको ढोका खुला राखिरहँदा निर्वाचनको नयाँ तालिका अनुसार प्रक्रिया पनि अगाडि बढ्ने छ । मनोनयन दर्ताका लागि बिहान ८ः१५ बजेदेखि ९ः१५ बजेसम्मको समय थप गरिएको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जनाएका छन् ।