२०८२ कात्तिक ३० गते
काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई पनि निर्वाचनमा सहभागी गराउन अध्यादेशमार्फत् कानुन संशोधनको तयारी गरेको छ ।मतदाता नामावलीमा नाम समावेश भएका तर विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अध्यादेश ल्याउने तयारी गरेको हो ।
गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ जसमा चारवटा ऐन संशोधनको प्रस्ताव गरिएको छ ।
उक्त प्रस्तावमा मतदाता नामावली, प्रतिनिधि सभा सदस्य निर्वाचन, निर्वाचन कसुर तथा सजाय र निर्वाचन आयोग सम्बन्धी ऐन संशोधन प्रस्ताव गरिएको छ । यी संशोधन भए विदेशमा रहेका नेपालीहरुले समानुपातिकतर्फ मतदानमा भाग लिन पाउने छन् ।
सो मस्यौदामा नेपालभित्रै रहेका तर आफ्नो निर्वाचन क्षेत्रबाट अर्को निर्वाचन क्षेत्रमा रहेका नेपालीहरुलाई पनि समानुपातिकतर्फको मतदानमा भाग लिन दिनेबारे उल्लेख छैन । तर त्यसबारे पनि छलफल भइरहेको बताइएको छ ।
अध्यादेशको मस्यौदामा दूतावास वा नियोगलाई मतदान केन्द्र निर्धारण गर्ने प्रस्ताव छ । दूतावास वा नियोगमा कार्यरत कर्मचारी नै मतदान अधिकृत तोकिने छ । मतदाता नामावलीको प्रमाणीकरण पनि दूतावास तथा नियोगका कर्मचारीहरुले गर्नेछन् ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले यही फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने तयारी गरिसकेको छ । दल दर्ताको मिति आज कार्तिक ३० गते सकिँदै छ ।
प्रतिक्रिया