२०८३ असार १५ गते
काठमाण्डौ । नेपाल बैंकले ऋण असुलीका लागि सिन्धुपाल्चोकस्थित भोटेकोसी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडको धितो सम्पत्ति पुनः लिलामीमा राखेको छ।पटक–पटक ताकेता गर्दा पनि ऋण चुक्ता नभएपछि बैंकले तेस्रो पटक सार्वजनिक सूचना जारी गर्दै बिक्री प्रक्रिया अघि बढाएको हो।
बैंकले इच्छुक व्यक्ति तथा संस्थाबाट १५ दिनभित्र बोलकबोल आवेदन माग गरेको छ। सूचनाअनुसार असार २९ गतेसम्म प्रस्ताव दर्ता गर्न सकिनेछ।यसअघि बैंकले दुई चरणमा ऋणी पक्षलाई कर्जा चुक्ता गर्न ३५–३५ दिनको समय दिएको थियो।पहिलो सूचना २०८२ जेठ २७ गते र त्यसअघि जेठ १ गते प्रकाशित गर्दै समयमै ऋण नतिरे धितो सम्पत्ति लिलाम गरिने चेतावनी दिइएको थियो।
बैंकले तोकिएको अवधिमा ऋण भुक्तानी नभए कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने र धितो सम्पत्ति बिक्रीमार्फत कर्जा असुल गर्ने जनाएको थियो। असार ५ गते लिलामी गर्ने तयारी गरिए पनि प्रक्रिया पूरा हुन नसकेपछि पुनः सूचना जारी गरिएको हो।
यसपटक लिलामीमा करिब ३५ रोपनी जग्गा, त्यसमा निर्माण भएका भवन तथा रिसोर्टसँग सम्बन्धित सम्पूर्ण स्थायी संरचना समावेश गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार ऋणी पक्षसँग पटक–पटक सम्पर्क, पत्राचार र ताकेता गर्दा पनि कर्जा नियमित नभएकाले धितो सम्पत्ति बिक्रीको विकल्प रोजिएको हो।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार बैंक आफैंले लिलामी प्रक्रिया सञ्चालन गर्नेछ। बोलकबोलमा सबैभन्दा बढी रकम प्रस्ताव गर्ने व्यक्तिले कबोल रकमको १० प्रतिशत धरौटी सोही दिन नगद रूपमा बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
रिसोर्टले व्यापारिक आवधिक कर्जा तथा चालू पूँजी कर्जा नेपाल बैंकबाट लिएको थियो। बैंकका अनुसार सिन्धुपाल्चोकको मार्मिङ–१ मा रहेका कित्ता नम्बर १३६, ५७२, ५७० र १७८ अन्तर्गतका जग्गा, भवन तथा अन्य संरचना धितोका रूपमा राखिएका छन्।बैंकले मूलधन र ब्याज दुवै नियमित रूपमा नतिरेको तथा बारम्बारको आग्रहलाई बेवास्ता गरिएकाले कानूनी प्रक्रियाअनुसार सम्पत्ति लिलामी गर्नुपरेको जनाएको छ।
भोटेकोसी हेली रिसोर्टका अध्यक्ष चीनबहादुर रानाभाट हुन्।सञ्चालकमा छिरिङ शेर्पा, सुवास प्रधान र समिरकुमार नेपाल रहेका छन्।२०७८ सालदेखि सञ्चालनमा आएको उक्त रिसोर्टलाई चारतारेस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो।
विस्तार तथा व्यवसायिक विकासका लागि रिसोर्टले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग रणनीतिक सहकार्य गर्दै भविष्यमा साधारण सेयर ९आईपीओ० निष्कासनको तयारीसमेत अघि बढाएको थियो।
प्रतिक्रिया