२०८२ कात्तिक १४ गते
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका समयमा भएका निजी क्षेत्रमाथिको आक्रमणलाई राष्ट्रकै सम्पत्ति माथिको आक्रमणका रूपमा व्याख्या गरेका छन् ।महिला आर्थिक पत्रकार संघ फेजाद्वारा आयोजित ‘क्यापासिटी बिल्डिङ फर फिमेल इकोनोमिक जर्नालिस्ट’ कार्यक्रममा बोल्दै उनले कुनै पनि निजी क्षेत्रले सिर्जना गरेका भौतिक पूर्वाधार र सम्पत्तिहरू व्यक्तिगत वा कम्पनी स्वामित्वमा भए पनि ती अन्ततः राष्ट्रकै सम्पत्ति रहेको क्षतिले सरकारलाई समेत क्षति पुगेको बताएका हुन् ।
उनले उदाहरण दिँदै भने, “जस्तोसुकै निजी स्वामित्व भए पनि ती सम्पत्तिहरू चाहे भाटभटेनी होस्, हिल्टन होटल होस् वा गाडीका शोरुम सबै नेपालमै रहन्छन्। स्वामित्व परिवर्तन हुन सक्छ, तर भौतिक सम्पत्ति देशमै रहन्छ।”
उनले निजी क्षेत्रका सम्पत्तिमाथि हुने तोडफोड, अवरोध वा आक्रमणले लगानीको वातावरणमा नकारात्मक सन्देश पुग्ने र विदेशी तथा स्वदेशी दुवै लगानीकर्तालाई निरुत्साहित बनाउने दाबी गरे । खनालले सञ्चारमाध्यमहरूलाई पनि जिम्मेवार भूमिका खेल्न आग्रह गरे। उनका अनुसार मिडियाले ‘सम्पत्ति’ र ‘स्वामित्व’ बीचको भिन्नतालाई बुझ्न जरुरी छ, किनभने गलत शीर्षक वा अपूर्ण सूचना प्रसारणका कारण बजारमा अनावश्यक रूपमा नकारात्मक वा सकारात्मक प्रभाव पर्न सक्छ। यस्तो प्रभावले लगानीकर्ताको मनोबल घटाउने खतरा रहन्छ।
एनसेलको उदाहरण दिँदै उनले स्वामित्व परिवर्तनले कम्पनीका भौतिक संरचना वा सम्पत्ति देशबाहिर लैजान सक्दैन भन्ने स्पष्ट पारे। उनले भने, “एनसेल पहिले टेलियासोनेराको स्वामित्वमा थियो, अहिले आजियाटाको स्वामित्वमा छ। भोलि अर्को कम्पनीको स्वामित्वमा जान सक्छ। तर, कम्पनीले निर्माण गरेका टावर, उपकरण, भवन र सम्पूर्ण भौतिक पूर्वाधार यहीं रहन्छन्।”
अर्थमन्त्री खनालले पछिल्ला दिनमा विदेशी लगानीबारे देशमा नकारात्मक धारणा फैलिन थालेकोप्रति चिन्ता व्यक्त गरे। उनले भने, “कसैले लगानी ल्यायो भने ‘लुट्न आएको’ भन्ने सोचले देशको लगानी वातावरणलाई कमजोर बनाउँछ। लगानीकर्तालाई शंका र डरको वातावरणमा काम गर्नुपर्ने अवस्था सिर्जना गर्नु हाम्रो अर्थतन्त्रका लागि खतरनाक हो।”
उनले सञ्चारकर्मीहरूलाई आग्रह गर्दै भने कि सही तथ्य, विश्लेषण र सन्तुलित दृष्टिकोणका साथ आर्थिक समाचार सम्प्रेषण गर्नु अत्यन्त महत्त्वपूर्ण छ। मिडियाको सूचनामूलक भूमिकाले मात्र देशमा सकारात्मक लगानी वातावरण सिर्जना गर्न सहयोग पुर्याउन सक्छ।
प्रतिक्रिया