काठमाडौँ महानगर वडा १८ ले थाल्यो सिप मेला, साबुन सरफदेखि कपडाका जुत्ता बनाउनेसम्मका सीप सिकाइने

२०८२ असार ०४ गते

काठमाडौँ महानगर वडा १८ ले थाल्यो सिप मेला, साबुन सरफदेखि कपडाका जुत्ता बनाउनेसम्मका सीप सिकाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १८ ले आजदेखि भुरुङ्खेलमा सिप मेला सुरु गरेको छ । मेलामा उद्यमशील विकास, रोजगारमूलक तथा स्वरोजगारमूलक र समाज व्यवस्थापनसँग सम्बन्धित प्रशिक्षण हुनेछ । वडाध्यक्ष न्हुच्छेकाजी महर्जनका अनुसार परम्परागत खाद्य परिकार उत्पादन गर्ने, एक वडा एक नमूना उद्यमसँग सम्बन्धित सिप विकास गराउने, विपद व्यवस्थापनमा स्थानीय क्षमता विकास गराउनेसहितका क्षेत्र तालिममा समावेश छन् । 

 

Advertisement:

Ad
Ad

उनले ४ दिन सम्म चल्ने आधारभूत प्रशिक्षणले उद्यम गर्न चाहने स्थानीयबासीमा स्वरोजगार बन्न, दैनिक जीवनयापनका लागि गर्नु पर्ने खर्च घटाउन र रोजगारीका क्षेत्रमा जान सहयोग गर्ने अपेक्षा लिइएको बताए । प्रशिक्षणमा विपद व्यवस्थापन क्षेत्रमा खोज उद्धार, एक वडा एक नमूना उद्यम कार्यक्रम क्षेत्रमा लाखामरी बनाउने तालिम हुनेछ । आयसँग र आफूले गर्नु पर्ने खर्च घटाउने क्षेत्रमा सेल्फ मेक अप तालिम राखिएको छ । यसमा प्रशिक्षण लिनेले व्यवसाय गरेनन् भने पनि आफूले पार्लरमा गर्नुपर्ने खर्च घटाउन सकिन्छ । 

 

प्रशिक्षणमा डल्लो साबुन, झोल साबुन र सरफ बनाउने, कपडाका जुत्ता बनाउने, रेशमी धागोबाट हस्तकलाका सामान बनाउने, वेकरी बनाउने तालिम चल्नेछ । तालिम हरेक दिन बिहान ११ बजे सुरु भएर अपरान्ह ३ बजे सकिनेछ । हरेक विधामा २५ जनासम्म प्रशिक्षार्थी राखिएको छ । यसरी करिब १५० जना प्रशिक्षित हुने अपेक्षा गरिएको छ । 

 

वडाले यस अघि तालिम दिएका योग्य जनशक्तिलाई प्रशिक्षक रुपमा विकास गरिएको छ । यसअन्तर्गत साबुन बनाउने र जुत्ता बनाउने तालिमका प्रशिक्षक वडाबाट प्रशिक्षण पाएका व्यक्ति छन् । लाखामरी बनाउन परम्परागत सिप भएका प्रशिक्षक चयन गरिएको छ । अन्य प्रशिक्षणका लागि प्रशिक्षण केन्द्रहरुसँग सहकार्य गरिएको छ ।