२०८१ कात्तिक २४ गते
काठमाडौ । विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटीहरू आगामी शैक्षिक सत्र देखि लागु हुने गरि सच्याउन अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठको ध्यानाकर्षण गराएको छ। अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका इन्चार्ज धर्मराज तिमल्सिनाको नेतृत्वले विद्यालय तहमा अध्ययनरत करिब ५६ लाख ७६ हजार २९२ बढि विद्यार्थीलाई पाठ्यपुस्तक मार्फत गलत पुस्तक पढाउन बाध्य पार्ने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकसँग तत्काल पाठ्यपुस्तकमा रहेका गल्ती सच्याउन माग गरेका छन् ।

पाठ्यक्रम विकास केन्द्रले ७७ वटै जिल्लामा रहेका करिब ३५ हजार ६७४ भन्दा बढि विद्यालयमा गलत शिक्षा पढ्न बाध्य पारेर, राज्यको लगानी माथी गम्भीर घात गरेको अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीको आरोप छ । जिल्ला कमिटिले ध्यानाकर्षण पत्रमा भनेको छ, ‘विद्यार्थीको भविष्यसँग, विवेकसँग, जवानी सँग, समय र श्रमसँग खेलबाड गरेको छ । राज्य कोष दुरुपयोग गरेको छ । यसमा संलग्न जिम्मेवार, विषय समितीहरु, व्यक्तिहरु तथा संयन्त्रहरुको यो गैरजिम्मेवारीपन अक्षम्य रहेको छ । तत्काल पाठ्यपुस्तकमा भए, गरेका कमि कम्जोरी सच्याउन छानबिन गरि, २०८२ मा प्रकाशित हुने पाठ्यपुस्तकमा सच्याएर मात्रै प्रकाशित र वितरण गरिन पर्छ। पाठ्यक्रम विकास केन्द्रको यस प्रकारको लापरबाहीले, यहाका समितिको लापरबाहीले सरकारी डकुमेन्ट प्रतिको विश्वास टुटेको छ ।’
वि.सं. २०७८ कार्तिकमंसिर महिनामा सम्पन्न राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा २०७९ चैत्र १० गते नै राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेकोमा हालसम्म पनि कक्षा १० को पाठ्यपुस्तकमा राष्ट्रिय जनगणना २०६८ कै तथ्याङ्क राखिनु, राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा प्रकाशित भइसकेको जानकारी नहुनु, नेपालको कुल जनसंख्या २ करोड९१ लाख ६४ हजार ५७८ रहेको विषयमा पाठ्यक्रम विकास केन्द्र अनभिज्ञ रहनु दुखद भएको इलाका कमिटिको भनाइ छ ।
विषय समितिले पेस गरेको पाठ्यसामग्रीको मस्यौदालाई पाठ्यक्रम विकास केन्द्र .कै प्रमुख, अध्यक्ष रहेको समन्वय तथा सम्पादन समितिले अध्ययन गर्ने र सुझाव दिने, पाठ्यसामग्री मूल्याङ्कन गर्ने, स्वीकृत गर्ने जिम्मेवारी हुन्छ तर त्रुटिपूर्ण पाठ्यपुस्तक लाखौँ लाख बालबालिकाको हातमा थमाएर गलत कुरालाई पढाउन लगाउनु गलत भएको उनीहरुको ठहर छ । यता पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिकसत्र २०८२ देखि नै लागुहुने गरि सच्याउने प्रतिबद्दता जनाएको छ ।
प्रतिक्रिया