समस्या देखिएपछि साउदी उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो

२०८० असोज १८ गते

समस्या देखिएपछि साउदी उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो

काठमाडौं। काठमाडौंबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौं फर्किएको छ।

गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल एयरलाइन्सको आर ए ४१२ जहाज आज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ।

Advertisement:

Ad
Ad

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार काठमाडौं–दमाम उडानको उक्त जहाजको ट्राफिक कोलिजन एभोइडेन्स सिस्टम टिकास उपकरणमा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको हो। पाकिस्तानको आकाशमा पुगेपछि प्राविधिक समस्या देखिएपछि विमान चालकले जहाज काठमाडौं फर्काएका थिए।

जहाज उडानको क्रममा अन्य जहाज नजिक आएमा संकेत गर्ने उपकरणलाई टिकास भनिन्छ।

‘टिकास जहाजमा जडित प्रणाली हो, यसले उडिरहेको जहाजलाई जोखिम हुन सक्ने तथा अर्को जहाजसँग ठोक्किनबाट जोगाउन पाइलटलाई निर्देशित गर्दछ,’ महाप्रबन्धक तिवारीले भने।

उक्त जहाजका यात्रुलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यमा पठाइने विमानस्थलले जनाएको छ। रासस