२०८१ कात्तिक ०४ गते
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले सहुलियत मूल्यमा बिक्रीमा राखेको भाँडाकुँडाको सेट सहितको इन्डक्सन चुल्हो प्रति उपभोक्ताको आकर्षण बढेको छ । यही असोज ७ गतेबाट सुपथ मूल्यमा बिक्रीमा राखिएको भाँडाकुँडाको सेट सहितको इन्डक्सन चुल्होप्रति खरिदकर्ताहरुको चासो र आकर्षण बढेको पाइएको हो ।
साल्ट ट्रेडिङले बिक्रीमा राखेको यी सेटमा बाल्ट्रा कम्पनीको इन्डक्सन चुल्होसँगै इन्डक्सन चुल्होमा पकाउन मिल्ने ५ लिटरको बाल्ट्राको प्रेसर कुकर,बाल्ट्राकै कराई,बाल्ट्राको चिया पकाउने ताप्के,त्यस्तै बाल्ट्राकै फ्राई प्यान रहेका छन् । इन्डक्सन चुल्होसँगै चार थरी भाँडाका सेटको मूल्य ९हजार ५ सय रहेको छ । बाहिरी बजारमा यो सेटको मूल्य १२हजार ८सय पर्ने साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेश कुमार झाले बताए । प्रबन्धक झाका अनुसार थोरै भाँडा खरिद गर्न चाहनेका लागि कम मूल्यको इन्डक्सन भाँडाका सेट पनि रहेका छन् । जसमा इन्डक्सन चुल्होसँगै ३ लिटरको बाल्ट्राको प्रेसर कुकर,एउटा कराई रहेको छ जसको मूल्य ७ हजार ३ सय ५० रहेको छ । साल्ट ट्रेडिङले बिक्रीमा राखेको पहिलो २ हप्तामा (बीचमा दशैं बिदा परेको बाहेकका कार्यालय खुलेको दिन गरी) कूल ७० वटा सेट बिक्री भइसकेकोे प्रबन्धक झा बताउँछन् ।
जसमा ठूलो कुकर सहितको सेट ६८ वटा र साना २ सेट बिक्री भएका छन् । यो सेट खरिद गरेर लगेका प्रयोगकर्ताको मुखैले गरेको बजारिकरणले थप माग बढिरहेकोे झाको भनाई छ । साल्ट ट्रेडिङले बिक्रीमा ल्याएको यी विद्युतीय चुल्होलाई वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले सर्टिफाई गरेका हुन् । २ हजार वाट क्षमता भएको इन्डक्सन चुल्होको २ वर्षको वारेन्टी रहेको छ । इन्डक्सन चुल्हो नेपालमै एसेम्बल गरिएका हुन् ।
"सरकारले विद्युतीय उर्जा प्रयोगलाई प्रोत्साहन गर्ने गरी विभिन्न समयमा विद्यतीय चुल्हो सहुलियत मूल्यमा वितरण गर्दै आएपनि त्यसले आम प्रयोगकर्तामा खासै प्रभाव जमाउन सकेको थिएन । त्यसो हुनुमा सबैको घरमा विद्युतीय चुल्होमा पकाउन मिल्ने भाँडाकुँडाको अभाव नै हो । यसैकारण साल्ट ट्रेडिङले नेपालमा भरपुर उपलब्ध विद्युतीय उर्जाको सदुपयोग गरी राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहयोग पुर्याउन विद्युतीय चुल्हो बिक्री अभियान चलाएको हो,"- झा भन्छन् । उनी थप्छन्-"त्यस्तै गरी अर्को सरकारले चलाएको मेक इन नेपाल अभियान अन्तर्गत नेपालमै बनेका नेपाली कम्पनीका भाँडाकुँडा सुपथ मूल्यमा विद्युतीय चुल्होसँग सेट मिल्ने गरी बिक्रीमा ल्याएका हौँ । जुन प्रयोगकर्ताले छोटो समयमै मन पराउनुभएको छ ।"
साल्ट ट्रेडिङले इन्डक्सन चुल्हो र भाँडाको सेट बिक्री योजनालाई निरन्तरता दिने जनाएको छ । साथै साल्ट ट्रेडिङले आफ्नो कार्यालय प्रांगणमा स्वदेशी जुत्ता बिक्री कक्ष समेत सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया