२०८१ भदौ १० गते
काठमाडौं । सहकारी पीडितहरुले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दबाबमूलक बृहत्त सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो ।
महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औं दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक आन्दोलनको विकल्प रोजिएको बताइएको छ ।
महासंघका अध्यक्ष कुशलव केसीले आन्दोलनकै क्रममा चार जना पीडितहरुले ज्यान गुमाइसकेको बताए । सहकारी पीडितले आफ्नो बचत फिर्ता पाओस् भन्ने मनसायले तेस्रो पटकको आन्दोलन सुरू गरेको १०१ औं दिन पुगेको अवसरमा आगामी भदौ १६ गतेबाट बृहत्त आन्दोलन गर्ने बताए ।
सहकारी पीडितहरु १६ महिनादेखि निरन्तर आन्दोलनमा रहेको र यो अवधिमा सरकारले दुईपटक सम्झौता गरेपनि पीडितको पक्षमा केही काम नभएको बताए ।
अध्यक्ष केसीले सरकारले तत्काल कार्यान्वयन गर्ने भनेर दोस्रोपटक आफूहरुसँग सम्झौता गरेको ५ महिना बितिसकेको बताए । तत्कालिन अवस्थामा आफूहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग सम्झौता गरेको र अहिले पुनः उनी सोही मन्त्रालयको जिम्मेवारीमा आएको बताउँदै अध्यक्ष केसीले अब उनले तत्काल राजीनामा दिनुपर्ने बताए । मन्त्री अधिकारीलाई पदमा बस्ने नैतिकता नरहेको उनको भनाइ छ ।
‘उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । बलराम अधिकारीज्यूले आफैंले गरेको सम्झौता कार्यान्वयन गर्नसक्ने ल्याकत राख्नुहुन्न भने पदबाट विदा हुँदा नै राम्रो हुन्छ, उहाँले हामीलाई भ्रममा राख्न सम्झौता गर्नुभयो, नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्छ । अब हामी सहेर बस्न सक्दैनौं,’ उनले भने ।
नेपाल प्रहरीको पूर्व महानिर्देशक एवं नेकपा ९एमाले० का नेता सर्वेन्द्र खनालले पीडितहरुको आँशु देख्न नसकेर यो अभियानमा जोडिएको बताए । उनले सहकारी ठगहरुलाई राज्यले हत्कडी लगाएर जेलमा कोच्नुपर्ने बताए ।
प्रतिक्रिया