फलफूलका बिरुवा रोप्ने किसानलाई अनुदान

२०८१ असार १३ गते

फलफूलका बिरुवा रोप्ने किसानलाई अनुदान

मान्म (कालीकोट) ।  फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेटमा एउटै जातका २५ बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने व्यवस्था गरिएको हो । अनुदान पाउन किसानले न्यूनतम २५ फलफूलका बिरुवा हुर्काएको हुनैपर्ने गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले जानकारी दिए । “किसानलाई कृषिमा प्रोत्साहन गर्नका लागि एउटै जातका २५ बिरुवा फलफूलका रोप्नेलाई अनुदानको व्यवस्था गरेका हौँ”, उनले भने, “यसले गाउँपालिकामा फलफूल उत्पादनमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।”

Advertisement:

Ad
Ad

फलफूल बगैँचा स्थापना कार्यक्रमलाई अभियानका रुपमा लिइने र फलफूलको बगँैचा स्थापना गर्ने कृषकलाई प्रतिबिरुवा रु ५० का दरले बिरुवा स्याहार खर्च (उत्पादनका आधारित प्रोत्साहन) उपलब्ध गराइने अध्यक्ष विष्टले बताए । “खाद्यान्न बालीमा आत्मनिर्भर बनाउन खाद्यान्न बालीको बिज वृद्धि कार्यक्रम सञ्चालन, कृषिउपजको बजारीकरण तथा सामूहिक खेतीलाई प्रोत्साहन गर्ने लक्ष्य छ”, उनले भने ।

कृषि तथा पशुपन्छीजन्य उत्पादनलाई प्रशोधन गरी कृषकलाई उच्च लाभ हासिल गर्न प्रशोधन केन्द्र स्थापना, उद्यमी, उद्यमी समूह र सहकारी संस्थालाई विशेष अनुदानको व्यवस्था गरिएको अध्यक्ष विष्टले जानकारी दिए ।

रासस