२०८१ चैत २२ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको आज कार्यकालको अन्तिम दिन हो । गभर्नरबाट बिदा हुनै लाग्दा अधिकारीले पत्रकार भेला गराएर आफ्नो कार्यकालमा भए गरेका प्रगति सुनाएका छन् । गभर्नर अधिकारीले आफ्नो कार्यकालको दोस्रो बर्षमा नै राष्ट्र बैंकको स्वायतता माथि प्रहार गर्न खोजेको स्मरण गरेका छन् ।
उनले भने, ‘मेरो कार्यकालको दोस्रो बर्ष राष्ट्र बैंकको स्वायततामै प्रहार गर्न खोजियो तर सर्बोच्च अदालतको साथ, आम पत्रकार जगत र राष्ट्र बैंकका कर्मचारीको साथले स्वायतता जोगाउँन सक्यौ ।’ नेपाल राष्ट्र बैंकको स्वायतता जोगाउँन पूर्व गभर्नर देखि अर्थशास्त्रीसम्मको उत्तिकै पहल रहेको उनले बताए । ‘जस्तो सुकै असहज परिस्थिती भएपनि चुनौती सामाना गर्न हिम्मत मिलेकोले विगतका पाँच वर्ष मेरो लागि सन्तुष्टि रह्यो', अधिकारीले भने ।
गभर्नर अधिकारी र तत्कालिन अर्थमन्त्री जनार्दन शर्माविच निकै टसल परेको थियो । एकले अर्कोलाई नसुन्ने र साथ नदिनेसम्मको अवस्था बनेको थियो । त्यतिबेला विलासी बस्तु आयात रोक्ने लगायतका नीतिगत निर्णय गर्नुअघि सूचना चुहाएको लगायतका गम्भीर आरोप लागाउँदै तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालेनै मन्त्रिपरिषद्मा उक्त विषय लगेर अधिकारीलाई निलम्बन गराएका थिए । यही विषयलाई लिएर अधिकारी सर्वोच्च गए । सर्वोच्चले उनको पक्षमा फैसला गरेपछि उनी पुन नियमित काममा फर्कन पाएका थिए । यसैले अधिकारीले कार्यकालको अन्तिम दिन सर्वोच्चले राष्ट्र बैंकको स्वायतता जोगाउँन चालेको कदम अविष्मरणीय भएको बताएका हुन् ।
गभर्नर अधिकारीले विगत पाँच वर्ष आफ्ना लागि सन्तुष्टिको बर्ष रहेको बताएका छन् । मौद्रिक नीतिको आधुनीकिकरण, तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको, ब्याजदर करिडोरलाई प्रभावकारी बनाउँन स्थायी निक्षेप सुविधा लगायतका ब्यवस्था कार्यन्वयनमा लगिनुलाई उनले आफ्नो कार्यकालको उपलब्धि भनेका छन् । यस्तै कोभिड माहामारी विश्वको अर्थव्यवस्थाका लागि चुनौती र यसको प्रभाव कहिलेसम्म कस्तो रहन्छ भन्ने अनुमान गर्न नसक्ने अवस्था आएपछि आर्थिक व्यवस्थालाई लयमा राख्न मौद्रिक नीतिलाई तथ्यमा आधारित भएर केही परम्परागत र केही गैरपरम्परागत उपाय अपनाएकै कारण समकक्षी देशहरुभन्दा बलियो राख्न सफल भएको पनि उनले उल्लेख गरेका छन् । अस्वस्थ प्रतिस्पर्धा निरुत्साहित भएको, कर्जा प्रवाह गर्ने र ऋणीको अनुशासन बढाउँने गरी नीतिहरु तर्जुमा भएको, एकल ग्राहक सम्वन्धि नयाँ व्यवस्था, चालुपुँजी कर्जा वित्तिय व्यवस्थाका लागि दीर्घकालिन फाइदा हुने विषय भएकाले उनले यसलाई आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि मानेका छन् ।
प्रतिक्रिया