२०८१ चैत २९ गते
काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयनको माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले यस अघि सबै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरुलाई सरकारी आठौं तहअनुसारको तलब सुविधा अर्थात ४८ हजार रुपैयाँ दिनुपर्ने निर्णय गरेको थियो । तर निजी मेडिकल कलेजहरुले उक्त निर्णय हालसम्म कार्यान्वयनमा ल्याएका छैनन् ।
मेडिकल कलेजले आवासीय चिकित्सकहरुलाई १४ घण्टासम्म काममा लगाउने तर १७ हजारदेखि २४ हजारसम्म मात्र निर्वाह भत्ता दिँदै आएका छन् । आयोगले तोकेको तलब भन्दा आधा कम लिएर आफूहरु काम गर्न बाध्य भएपछि आवाज उठाउँदै आएका विद्यार्थीहरुलाई निजी मेडिकल कलेज सञ्चालकले धम्की र त्रास देखाएर रोक्दै आएका छन् । यद्यपि आन्दोलनमा होमिएका आवासीय चिकित्सकहरु भने अब आयोगको उक्त निर्णय जसरी पनि कार्यान्वयन गराई छाड्ने अडानमा छन् । देशभरिका करिब २ हजार भन्दा बढी आवासीय चिकित्सकहरु यति खेर आआफ्नो ठाउँबाट आन्दोलनमा उत्रिएका छन् । उनीहरु माइतीघर मण्डला, चिकित्सा शिक्षा आयोग र मेडिकल कलेज बाहिर धर्ना दिएर आन्दोलनमा शसक्त बनाउँदै लगेका छन्।

काठमाडौंको किष्ट र नेपाल कलेजका चिकित्सक माइतीघर मण्डलमा आन्दोलन गरिरहेका छन्। चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सका विद्यार्थीहरुले चितवनमा आन्दोलन गरिरहेका छन्। नेपालगञ्ज मेडिकल कलेज र लुम्बिनी लगायतका मेडिकल कलेजका चिकित्सकहरुले आफ्नै अस्पताल अगाडि धर्ना र र्याजली गरिरहेका छन्।
उपत्यकाकै एक निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सक रोहित न्यौपानेका अनुसार आयोगको निर्णय हालसम्म कलेजले कार्यान्वयनमा ल्याएको छैन । उनी भन्छन्, 'कार्यान्वयन गराउन दबाब दिए विद्यार्थीमाथि विभिन्न किसिमका मानसिक दबाब र डर देखाउने कार्य भइरहेको छ। कलेजले मेडिकल विद्यार्थीहरूको पदपूर्ति अवधि अनावश्यक रूपमा बढाइदिने धम्की दिइरहेको छ, साथै सम्बन्धित विभागका प्रमुखहरूलाई आफ्ना विभागका मेडिकल विद्यार्थीमाथि दबाब सिर्जना गर्न निर्देशन दिने गरेका छन् ।'
'आन्दोलनमा उत्रने विद्यार्थीहरुलाई छानेर कलेजले शैक्षिक सत्र समाप्त नहुँदै वार्षिक किस्ताको भुक्तानीको लागि हामीमाथि दबाब दिइरहेको छ, जुन पूर्णरूपमा अस्वीकार्य छ।'उनी भन्छन् ।
तीन दिन यता चलिरहेको आन्दोलनमा सबै निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरुको प्रतिनिधित्व रहेको छ, यस हिसावले पनि यो आन्दोलन परिणाममुखी आदोलन हुने सहभागीहरुको विश्वास छ । तथापी नेपाल मेडिकल एसोसिएसन एनएमएले भने आन्दोलनमा खासै चासो नदेखाएको र अभिभावकीय भूमिका निभाउन नसकेको आन्दोलनरत चिकित्सकहरुको आरोप छ ।
प्रतिक्रिया