२०८१ असार २४ गते
काठमाडौं । १ सय ४० किलोमिटर लम्बाई हुने काठमाडौं-रक्सौल रेलमार्ग निर्माणको काममा भारतले आशय व्यक्त गरेको छ । भारतले करिब ३ खर्ब ८३ अर्ब रुपैयाँ ऋण सहुलियत उपलब्ध गराएर परियोजना अघि सार्न नेपालसँग सम्वाद गरेको हो ।
नेपालले भने यसमा केही अनुदान हुनुपर्ने प्रस्ताव गरेको छ। भारतले एक्जिम बैंकमार्फत सस्तो ब्याजदरमा ऋण दिने प्रस्ताव गरेको हो। नेपालले कम्तिमा ४० प्रतिशत अनुदान दिन आग्रह गरेको छ।परियोजना सकिन पाँच वर्ष लाग्नेछ ।
भारतले दुई छिमेकी देशसमेतलाई समेटेर रेल-वे सेवा विस्तार गर्दै छ। भारतले उत्तरपूर्वी क्षेत्रलाई समेट्ने गरी नेपाल र बंगलादेश जोड्ने गरी रेलवे सेवा विस्तार गर्न लागेको हो। सोही परियोजना अन्तर्गत रक्सौल-काठमाडौं रेलसमेत राख्ने गरी भारत पक्षले प्रक्रिया अगाडि बढाएको छ।
भारतले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गतवर्ष नै भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको थियो।
काठमाडौंलाई छोटो दुरी र कम समयमा तराईसँग जोड्ने ७०.९७ किलोमिटर लामो द्रुतमार्ग निर्माणाधीन अवस्थामा छ। अर्कोतर्फ सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलसमेत निर्माणको प्रक्रियामा राखेको छ।
प्रतिवेदनअनुसार यो रेलमार्गमा ३१ वटा सुरुङमार्ग बन्नेछन्। सुरूङकै कुल लम्बाइ ४०.८६ किलोमिटर हुनेछ। छिमेकी देश भारतलाई जोड्ने प्रस्तावित रक्सौल बिन्दु र काठमाडौं जोड्ने उक्त रेलमार्ग १४०.७९ किलोमीटर लम्बाइको हुनेछ।
यो रेलमार्गमा विभिन्न स्थानमा गरेर १२ वटा स्टेशन हुनेछन्। त्यसमा रक्सौल, वीरगञ्ज, बेलवा, मनहरवा, सपही बजार, निजगढ, मकवानपुर, दियाल, शिखरपुर, सिस्नेरी, सतिखेल र काठमाडौंमा रेल स्टेशन हुनेछन्।
प्रतिक्रिया