२०८३ असोज ३० गते
काठमाडौं। नेपाल राष्ट्र बैंकले दसैं, तिहार तथा छठ पर्वको अवसरमा डिजिटल वालेटमा रकम जम्मा गर्न पाउने दैनिक सीमा अस्थायी रूपमा बढाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले परिपत्र जारी गर्दै प्राकृतिक व्यक्तिको वालेटमा रकम जम्मा गर्ने कारोबार संख्या दैनिक अधिकतम ५० पटक पुर्याएको हो।
राष्ट्र बैंकको व्यवस्था अनुसार बडादसैंका अवसरमा २०८३ असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म दैनिक अधिकतम ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिनेछ। त्यसैगरी, तिहार तथा छठ पर्वका अवसरमा कात्तिक २१ गतेदेखि २९ गतेसम्म पनि यही सुविधा उपलब्ध हुनेछ।
यसअघि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको अ।प्रा। निर्देशन नं। ५/०८२ को बुँदा नं. ३९२० अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न पाइने व्यवस्था थियो। चाडपर्वका समयमा डिजिटल भुक्तानी तथा वालेट कारोबारमा हुने वृद्धि र कारोबारको चापलाई ध्यानमा राख्दै राष्ट्र बैंकले उक्त सीमा निश्चित अवधिका लागि बढाएको हो।
परिपत्रअनुसार तोकिएको अवधिमा भएका कारोबारको कुल संख्या र कुल कारोबार रकमको विवरण अनिवार्य रूपमा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई उपलब्ध गराउन भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिइएको छ। यो व्यवस्था तोकिएका पर्व अवधिका लागि मात्र लागू हुनेछ। अन्य समयमा भने साविककै दैनिक १० पटकको सीमा कायम रहनेछ।
प्रतिक्रिया