धितोपत्र सम्बन्धी संसोधन विधेयक संसदमा दर्ता, कस्ता छन् नयाँ प्रावधानहरु?

२०८१ भदौ ०२ गते

धितोपत्र सम्बन्धी संसोधन विधेयक संसदमा दर्ता, कस्ता छन् नयाँ प्रावधानहरु?

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ संसदमा दर्ता गरेको छ। धितोपत्र ऐन संसोधन विधेयक संसदमा साउन ३२ गते दर्ता भएको अर्थमन्त्रालयले जनाएको हो।

यस विधेयकमा केन्द्रीय निक्षेप सेवा सञ्चालन (सीडीएससी) का लागि अनुमतिपत्र लिने प्रक्रिया, मार्जिन कारोबारको व्यवस्था, र प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल सञ्चालनका लागि निवेदन दिने प्रावधानहरू समेटिएका छन्।

Advertisement:

Ad
Ad

विधेयकले केन्द्रीय निक्षेप सेवा सञ्चालनका लागि अनुमतिपत्र प्राप्त गर्ने, अवधि नवीकरण, र सेवाको प्रभावकारिता सुनिश्चित गर्ने व्यवस्था गरेको छ। हरेक आर्थिक वर्षको अन्त्यअघि वार्षिक शुल्क बुझाएर नवीकरण गराउनुपर्ने प्रावधान विधेयकमा समावेश गरिएको छ।

नयाँ विधेयकमा भित्री कारोबार (इनसाइडर ट्रेडिङ) मा दोषी ठहरिएमा सजाय बढाइएको छ। यसअन्तर्गत, बिगो बमोजिम जरिवाना वा एक वर्षसम्मको कैद सजायलाई तीन वर्षसम्म बढाइएको छ। अरू जालसाजी कारोबारका लागि पनि सजाय कडा बनाइएको छ, जसमा बोर्डबाट अनुमति प्राप्त संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको अयोग्यता समेत समेटिएको छ।

विधेयकमा धितोपत्र व्यवसायीले लगानीकर्तालाई मार्जिन कारोबार दिने व्यवस्था पनि गरिएको छ, जसले लगानीकर्ताहरूलाई थप सुविधा पुर्‍याउने अपेक्षा गरिएको छ।