धारापानी २२० केभी सबस्टेसन धमाधम निर्माण हुँदै , खुदी सबस्टेसन पनि तिन महिनाभित्र सकिने

२०८१ कात्तिक २३ गते

धारापानी २२० केभी सबस्टेसन धमाधम निर्माण हुँदै , खुदी सबस्टेसन पनि तिन महिनाभित्र सकिने

काठमाडौं । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजना अन्तर्गतकै लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । खुदी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु जारी छन् । धारापानी सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्ष लगायतका सिभिल संरचनाहरुको निर्माण धमाधम भइरहेको छ ।

धारापानी र खुदी सबस्टेसनमा क्रमश : २२०/१३२ केभी,१०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु रहने छन् । दुवै सबस्टेसनमा स्थानीय रुपमा विद्युत आपूर्तिका आवश्यक व्यवस्था गरिएको छ । निर्माण सम्पन्न भई सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्ति सुरु भएपछि लमजुङ र मनाङको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमण मार्फत सबस्टेसन तथा प्रसारण लाइन निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिका लगायतका विषयमा आयोजना व्यवस्थापन, निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी जनशक्ति थप गरी प्रसारण लाइन तथा सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा सङ्लग्न सबैलाई आग्रह गरेका छन् । साथै, कार्यकारी निर्देशक घिसिङले धारापानी क्षेत्रका स्थानीय बासिन्दासँग छलफल गरी सबस्टेसन तथा प्रसारण लाइन निर्माणमा आवश्यक सहयोग गर्न पनि भनेका छन् । ‘मस्र्याङ्दी करिडोर प्रसारण लाइनमा जोड्ने गरी सम्झौता गरिएका जलविद्युत् आयोजनाहरुको निर्माण सुरु भइसकेको छ, त्यसैले यो लाइन जतिसक्दो छिट्टो निर्माण सम्पन्न गर्नुपर्ने छ, समयतालिका, कामको गुणस्तर लगायतलाई विशेष ध्यान दिएर निर्माणलाई तीब्रता दिनुपर्ने छ’, घिसिङले भने । ‘भौगोलिक बिकटतालाई चिर्दै मनाङमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् त पुगेको छ तर भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको समस्या छ, आपूर्तिका सुधारका लागि पनि जतिसक्दो छिटो प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्नु पर्नेछ ।’ सबस्टेसन निर्माणस्थल वरपरका स्थानीय बासिन्दाले राखेका जायज माग पूरा गर्न आयोजना सँधै तयार रहेको बताउँदै उहाँले पर्यटकीयस्थल मनाङको विद्युत् आपूर्ति सुधारका लागि योजनाबद्ध रुपमा काम अगाडि बढाइसकिएको उल्लेख गरे ।

Advertisement:

Ad
Ad

मस्र्याङ्दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ । आयोजना अन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११४ किलोमिटर डबल सर्किट प्रसारण लाइनलाई तीन प्याकेजमा विभाजन गरी निर्माण अगाडि बढाइएको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट तनहुँको मार्कीचोक हुँदै नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६८ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । यस खण्डमा पर्ने १९९ वटा टावरमध्ये १२५ वटाको जग हालिएको छ । ६५ वटा टावर खडा गरिएको छ । बाँकी स्थानमा काम भइरहेको छ ।

दोस्रो प्याकेजअन्तर्गत लमजुङको उदीपुर र चितवनको भरतपुरमा २२० केभीका सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । तेस्रो प्याकेज अन्तर्गत धारापानी–खुदी– उदीपुर ४६ किलोमिटर प्रसारण लाइन र धारापानी तथा खुदी सबस्टेसन निर्माणाधीन छन् । खुदी–उदीपुर करिब १६ किलोमिटर प्रसारण लाइन खण्डमा १७ वटा टावरको जग हालिएको छ । ८ वटा खडा गरिएको छ । यस खण्डअन्तर्गत बेसींसहर नगरपालिका–८का केही स्थानीय बासिन्दाले प्रसारण लाइनको मार्ग परिवर्तन गर्नु पर्ने र यदि लाइन नसार्ने भएमा मार्गधिकारमा पर्ने जग्गाको शत प्रतिशत क्षतिपूर्ति दिनु पर्ने माग राख्दै विगत दुई वर्षदेखि निर्माणमा अवरोध गर्दै आएका छन् । उक्त स्थानमा १२ वटा टावर निर्माण गर्नु पर्ने छ । टावर निर्माणका लागि जग्गा अधिग्रहणका लागि मुआब्जा रकम निर्धारण भई करिब ८० प्रतिशत जग्गाधनीले रकम बुझिसकेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरुङलाई भेटी खुदी–उदीपुर खण्डमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गर्नुभयो । ‘दुई वर्षदेखि निर्माणमा अवरोध छ, हाम्रोतर्फबाट स्थानीयका जायज माग पूरा गर्ने प्रतिबद्धता पटक–पटक जनाउँदै सोही बमोजिम काम पनि गरिरहेका छौं, यस्तो महत्वपूर्ण प्रसारण लाइन निर्माण अब रोक्न सकिंदैन यसका लागि आवश्यक सहयोग सहजीकरण गरिदिनु पर्यो’, उनले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे। निर्माणमा देखिएको अवरोध हटाउन स्थानीय प्रशासनकातर्फबाट सहजीकरण तथा समन्वय भइरहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले राष्ट्रिय प्राथमिकता प्राप्त प्रसारण लाइन निर्माणमा आवश्यक सहयोग गरिने बताए । खुदी–धारापानी खण्ड प्रसारण लाइन निर्माणका लागि अधिग्रहण गरिने निजी जग्गाको मूल्याङ्कनको प्रक्रियामा छ । यस खण्डमा भौगोलिक रुपमा विकट र चुनौतीपूर्ण स्थानमा प्रसारण लाइन निर्माण गर्नुपर्ने छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको समग्र अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।