२०८१ असोज ०७ गते
लेखनाथ। कास्कीको पोखरा महानगरपालिका –४ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक छविलाल जोशीलाई आज अदालतमा उपस्थित गराइँदैछ ।
आइतबार दिउँसो काठमाडौंको शङ्खमूलबाट प्रहरीले नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि जोशीलाई राती साढे ९ बजे हवाइजहाजमार्फत पोखरा ल्याइएको हो । गोरखा मिडिया प्रालिले चलाएको ग्यालेक्सी फोरके टेलिजभिनमा गैरकानुनी रुपमा सहकारीको रकम लगानी भएको संसदीय छानबिन समितिको निष्कर्ष छ ।
समितिले प्रतिवेदन सरकारलाई बुझाएपछि आइतबार गृहमन्त्री रमेश लेखकले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो । जोशी निवृत्त प्रहरी नायब महानिरीक्षक (डिआइजी) समेत हुन् । केही महिनाअघि कास्की प्रहरीले जोशीकै घरमा छापा मारी सूर्यदर्शन सहकारी र टेलिभिजनको कागजात नियन्त्रणमा लिएको थियो ।
काठमाडौं महानगरपालिका –१, नक्साल बस्ने ५९ वर्षीय जोशी विदेश जान लागेको गोप्य सूचना पाएपछि कास्की प्रहरीको अनुरोधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो । जोशीलाई सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने कास्की प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।
“आज अदालत लगिन्छ, संसदीय समितिको प्रतिवेदन, प्रहरीले तयार गरेको प्रतिवदेन, अरु छानबिन समितिका प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्छाैं” प्रहरी प्रमुख थापाले भने, “सरकारको निर्देशनअनुसार कानुन कार्यान्वयन गर्न प्रहरी प्रतिबद्ध छ ।”
प्रतिक्रिया