बचतकर्ताको बचत ठगेर विदेशमा लुकेका जिबी राई लगायत १८ जनालाई स्वदेश ल्याउन निर्देशन

२०८१ साउन १४ गते

बचतकर्ताको बचत ठगेर विदेशमा लुकेका जिबी राई लगायत १८ जनालाई स्वदेश ल्याउन निर्देशन

काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले बचतकर्ताको बचत ठगेर विदेशमा लुकेका १८ जनालाई खोज्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

सोमबारको बैठकमा गृहमन्त्री रमेश लेखकलाई सहकारी ठगीमा संलग्न रहेर फरार हुँदै विदेशमा रहेका १८ जनालाई स्वदेश फर्काउन निर्देशन दिएको हो।

Advertisement:

Ad
Ad

समितिको कार्यविधिको अनुसूची १ र २ मा भएका २९ वटा संस्थाका १८ जना व्यक्तिले बचतकर्ताको बचत अपचलन तथा दुरुपयोग गरेर विदेशमा लुकेर बसेका छन् ।

उनीहरुले बचत फिर्ताका विषयमा समितिलाई के भन्छन् भन्ने महत्त्वपूर्ण रहेको समिति सभापति सूर्य थापाले बताए । सबै जना छानबिनको दायरामा आउन आवश्यक रहेको उनको भनाइ छ ।

समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका व्यवसायीक साझेदार समेत रहेका सानो पाइला, सहारा, सूर्य र्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग गर्ने गितेन्द्र बहादुर (जिबी राई) लगायत १८ जनालाई जुन देशमा भए पनि स्वदेश ल्याउन निर्देशन दिएको हो ।

यस्तै सुमेरु सहकारी कालिमाटी र पुल्चोकका भरत महर्जन तथा उनकी श्रीमती राजमाया महर्जन, छोरा सचिन महर्जन र छोरी सरला महर्जनको खोजी गर्न समितिले निर्देशन दिएको छ ।

१ करोड ५४ लाख बचत फिर्ता नगरेका सूर्यदर्शन सहकारी पोखराको अध्यक्ष बनिसकेका ज्ञानबहादुर बम्जन जो हाल अमेरिकामा रहेका छन् ।

सूर्यदर्शन सहकारीका पछिल्ला अध्यक्ष थान बहादुर बुढामगर, भुपेन्द्र राई, शिवशिखर बहुउद्देश्यीय सहकारीका सचिव तेज बहादुर बम्जन तामाङ, इमेज सहकारीका देव कुमार नेपाली र उनकी श्रीमती छेदा नेपाली, सानो पाइला सहकारीको तस्विरन खातुन र असरफ अली, सहारा सहकारी चितवन तथा सुप्रिम सहकारी बुटवलसँग सम्बन्धित सुवास केसी फरार छन् ।

इमेज सहकारीका प्रबन्धक दिपक पौडेल, शिवशिखर सहकारीका सीईओ लिलानाथ गौतम, कान्तिपुर सहकारीका प्रेमध्वज लामा, मेगा ड्रिम सहकारीका महाशंकर रेग्मी पनि विदेश फरार रहेका छन् । सहकारीको नाममा बचतकर्ता ठगीको आरोप लागेका उनीहरु मध्ये कोही अमेरिका, केही बेलायत, केही मलेसिया, केही भारत, केही यूरोप र केहीको अवस्था अज्ञात रहेको समितिका सभापति थापाले बताए ।

उनीहरुको खोजीका लागि गृहमन्त्रीलाई निर्देशन दिइएको थापाले बताए । उनीहरुलाई सम्पर्कमा ल्याएपछि मात्रै समितिले गरेको छानबिन निष्कर्षमा पुग्ने थापाको भनाइ छ ।

केही सहकारीका ठगहरु कारागारमा रहेका छन् । समितिले पोखरा, विराटनगर, काठमाडौं लगायतमा ठाँउमा कारागारमा रहेकाहरुसँग सोधपुछ गर्ने थापाले बताए । उनीहरुको सोधपुछका लागि आवश्यक जनशक्ति, स्रोत, साधनको व्यवस्था गर्न समितिले सरकारसँग आग्रह गरेको छ । गृहमन्त्रीले त्यसका लागि सहयोग गर्ने वचन दिएको थापाले जानकारी दिए ।

विदेशमा रहेका र हिरासतमा रहेका २५ जना मध्ये २४ जनासँग सोधपुछ गर्ने थापाको भनाइ छ । १ जनालाई सक्सेस स्टोरीको रुपमा हेरिने उनको भनाइ छ । सोधपुछ गर्ने नाम गृह प्रशासनलाई दिएको थापाले बताए ।छलफलमा मन्त्री लेखकले समितिलाई आवश्यक सहयोग गर्ने बताएका छन्।