आकाश एयरद्वारा एक्कैचोटि बोइङका १५० विमान माग

२०८० माघ ०५ गते

आकाश एयरद्वारा एक्कैचोटि बोइङका १५० विमान माग

नयाँदिल्ली। भारतको नयाँ वायुसेवा कम्पनी आकाश एयरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान माग गरेको जनाएको छ ।

गत जनवरीको सुरुमा अलास्का एयरलाइन्सको विमानमा प्राविधिक समस्या हुँदा आपत्कालीन अवतरण गर्न बाध्य भएपछि अमेरिकी उड्डयन कम्पनी बोइङको ७३७ म्याक्स ९ जेटविमानका कारण कम्पनीको विश्वव्यापी रूपमा चर्को आलोचना भइरहेको छ ।

Advertisement:

Ad
Ad

आकाश एयरका प्रमुख कार्यकारी अधिकृत विनय दुबेले ७३७ म्याक्स १० र ७३७ म्याक्स ८–२०० जेटका लागि भएको ‘ऐतिहासिक’ मागपछि भारतीय एयरलाइन्सलाई ‘विश्वको शीर्ष ३० अग्रणी एयरलाइन्समध्ये एक बन्ने’ मार्गमा लैजाने बताए ।

सन् २०२१ मा ७२ वटा र सन् २०२३ मा थप चारवटा विमानको माग गरिसकेको आकाश बोइङको बलियो सहयोगी रहँदै आएको छ । प्रमुख कार्यकारी अधिकृत दुबेले भने, “आकाश एयरको विमान वृद्धिले ‘भारतको उड्डयन बजारको प्रतिज्ञा’लाई पूरा गर्ने प्रयासमा टेवा पुग्नेछ ।

यो मागमा अलास्का एयरलाइन्सको विवादित बोइङको म्याक्स ९ विमान समावेश गरिएको छैन । कुनै पनि भारतीय एयरलाइन्सले बोइङ म्याक्स ९ विमान प्रयोग गर्दैनन् ।

देशको उड्डयन नियामक निकायले दुई साताअघि ७३७ ८ म्याक्स विमानको परीक्षण सन्तोषजनकरूपमा सम्पन्न भएको बताएको थियो ।