बिहीबारको शेयर बजार : ४ अर्ब ६९ करोडको कारोबार सहित नेप्से १३ अंकले घट्यो

२०८३ जेठ २१ गते

बिहीबारको शेयर बजार : ४ अर्ब ६९ करोडको कारोबार सहित नेप्से १३ अंकले घट्यो

काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन लगातार बढेको बजार यस दिन भने ओरालो लागेको हो।

बिहीबार नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स १.६७ अंक, फ्लोट इण्डेक्स ०.६९ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अंकले घटेका छन्।

Advertisement:

Ad
Ad

बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन ५ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बिहीबार ३५३ वटा स्टकको ५१ हजार ६०१ पटक कारोबार हुँदा ४ अर्ब ७० करोड ३३ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख १७ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन कालिञ्चोक हाइड्रोपावर लिमिटेड को शेयरमूल्य पुनः सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कम्पनीको शेयरमूल्य ८५ रुपैयाँ ९० पैसा बढेर ६५८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। यस्तै न्यादी हाइड्रोपावर लिमिटेड को शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

गिरावटतर्फ भने ८.५ प्रतिशत एसबिएल डिबेञ्चर २०८४ को मूल्य सर्वाधिक १०.४८ प्रतिशतले घटेको छ। अन्य स्टकहरूको मूल्य गिरावट भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा एभरेष्ट बैंक लिमिटेड को अपरिवर्तनीय ऋणपत्र शीर्ष स्थानमा रह्यो। उक्त ऋणपत्रको ३४ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि आँखा खोला जलविद्युत कम्पनी लिमिटेड को ३२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने सेन्ट्रल फाइनान्स लिमिटेड को कारोबार रकम १८ करोड ५० लाख रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूह सामान्य बढ्दा व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.७१ प्रतिशतले घटेको छ। त्यस्तै निर्जीवन बीमा र होटल तथा पर्यटन उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।

लगानीकर्ताको नाफा सुरक्षित गर्ने प्रवृत्ति र अधिकांश उपसमूहमा देखिएको बिक्री दबाबका कारण बजारमा गिरावट देखिएको विश्लेषण गरिएको छ।