पोखरा र समृद्धि फाइनान्स गाभिँदै,असार २५ गते एक दिन सबै सेवा स्थगित हुने

२०८३ असार १२ गते

पोखरा र समृद्धि फाइनान्स गाभिँदै,असार २५ गते एक दिन सबै सेवा स्थगित हुने

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनीबीचको मर्जर प्रक्रिया पूरा भएसँगै दुवै वित्तीय संस्था असार २६ गतेदेखि ‘पोखरा फाइनान्स लिमिटेड’ को नाममा एकीकृत कारोबारमा जाने भएका छन्।

 

Advertisement:

Ad
Ad

एकीकृत प्रणाली लागू गर्न आवश्यक डाटा माइग्रेसन तथा अन्य प्राविधिक तयारीका कारण असार २५ गते दुवै संस्थाका केन्द्रीय कार्यालय र सबै शाखाबाट प्रवाह हुने सम्पूर्ण बैंकिङ सेवा एक दिनका लागि स्थगित रहने जानकारी दिइएको छ।

 

मर्जरपश्चात् समृद्धि फाइनान्सका नाममा रहेका सम्पूर्ण सम्पत्ति, दायित्व, कर्जा तथा सम्भावित वित्तीय जिम्मेवारी पोखरा फाइनान्सले ग्रहण गर्नेछ। दुवै संस्थाबीच १स्१ को सेयर स्वाप अनुपातमा गाभिने सहमति भएकाले दुवै कम्पनीका सेयरधनीले बराबरी अनुपातमा नयाँ संस्थाको सेयर प्राप्त गर्नेछन्।

 

एकीकृत संस्थाको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित साविक समृद्धि फाइनान्सको भवनबाट सञ्चालन हुनेछ। मर्जरपछि सात सदस्यीय सञ्चालक समिति गठन गरिनेछ, जसमा समृद्धि फाइनान्सका अजय मिश्र, दुर्गा थापा, दिनेशकुमार बर्तौला र सुदीप घिमिरे तथा पोखरा फाइनान्सका प्रतीक गुरुङ, यमबहादुर सुर्खाली र तीलबहादुर गुरुङ रहनेछन्।

 

स्रोतका अनुसार, हाल समृद्धि फाइनान्सका अध्यक्ष अजय मिश्रले नै एकीकृत संस्थाको अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्। त्यसैगरी, नयाँ संस्थाको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० का रूपमा प्रकाश गुरुङ नियुक्त हुने सहमति भएको बताइएको छ।

 

मर्जर सम्पन्न भएपछि संस्थाको चुक्ता पुँजी बढेर १ अर्ब ९० करोड १४ लाख ६८ हजार रुपैयाँ पुग्नेछ। हाल पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ तथा समृद्धि फाइनान्सको ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको छ। एकीकृत संस्थाले देशभर ३६ वटा शाखामार्फत सेवा प्रदान गर्नेछ भने करिब ३०० कर्मचारी रहनेछन्।