२०८३ जेठ ११ गते
सर्लाही । नेपालकी उपसभामुख रुवी कुमारी ठाकुर ले आफ्नो श्वास रहुञ्जेल दाइजो प्रथा अन्त्य गर्न सङ्घर्ष जारी राख्ने बताएकी छिन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं। २ स्थित गौचरनमा आक्ष्तबार आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी बृहत् सभालाई सम्बोधन गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथा अन्त्यका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले छोरा–छोरीबीच हुने विभेद अन्त्य गरी छोरीलाई शिक्षित बनाउन अभिभावकलाई आग्रह गरिन्। “जबसम्म समाज दाइजोमुक्त हुँदैन, तबसम्म म यो अभियान छोड्दिनँ,” उनले भनिन्।
उपसभामुख ठाकुरले धेरै छोरी भएका परिवारलाई समाजले बोझको रूपमा हेर्ने गलत सोच अझै कायम रहेको उल्लेख गर्दै यस्तो मानसिकता परिवर्तन गर्नुपर्ने बताइन् । उनले आफूले पहिलो पटक संसद्मा दाइजो प्रथाको विषय उठाएको स्मरण गर्दै दाइजो उन्मूलन अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राखिन्।
“जसरी सीतामाताको सम्मान गरिन्छ, त्यसरी नै आफ्ना छोरीहरूको सम्मान गर्नुस्। आफ्ना छोरीलाई सीतामाता र म जस्तै सक्षम बनाउनुस्,” उनले भनिन् ।
उनले विवाहका क्रममा केटा पक्षले भोजभतेरदेखि विभिन्न बहानामा आर्थिक दबाब दिने गरेको उल्लेख गर्दै दाइजो मधेशको ठूलो सामाजिक रोग भएको बताइन् । “यो रोग अन्त्य नभएसम्म म लडिरहन्छु,” उनको भनाइ थियो।
आफू गरिब परिवारबाट आएको स्मरण गर्दै उपसभामुख ठाकुरले शिक्षा नै सफलताको मुख्य आधार भएको बताइन्। “आज म उपसभामुख बन्दा मेरा अभिभावक गर्व गर्छन्। छोरीहरूले उच्च शिक्षा पाए भने म जस्तै जिम्मेवार पदमा पुग्न सक्छन्,” उनले बताउइन्।
प्रतिक्रिया