२०८२ असोज ०७ गते
काठमाडौँ । नेपाल डेरी एसोसिएसनको पहलमा ११औं विश्व स्कुल दूध दिवस भव्यताका साथ मनाइने भएको छ । यस अवसरमा नेपाल डेरी एसोसिएसनका प्रदेश तथा जिल्ला कार्यसमितिहरूको आयोजनामा देशैभरी विविध कार्यक्रमहरू आयोजना हुने एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिएका छन् ।
विश्वमा कुनै पनि बालबालिकाहरूले दूध तथा दूग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भत्रे उद्देश्यले सन् २००० देखि विश्व स्कुल दूध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन विश्वभर भव्यताका साथ मनाउने गरिएको छ भने नेपालमा नेपाल डेरी एसोसिएसनको पहलमा २०७२ सालदेखि यो दिवस मनाउन शुरुवात गरिएको हो । यस वर्ष विश्वमा २५औं र नेपालमा ११औं विश्व स्कुल दूध दिवस भव्यताका साथ मनाइने भएको छ । विगतमा जस्तै विश्व विद्यालय दूध दिवसको अवसरमा “बालबालिकाको स्वास्थ्य तथा उज्जवल भविष्य, दैनिक दूध अनिवार्य भन्ने नाराका साथ काठमाडौं जिल्लास्थित सेन्ट जर्ज स्कुल, हाँडीगाउँमा “दुध पान कार्यक्रम” आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष दाहालले जानकारी दिएका छन्। उनी भन्छन्,दूध एक पूर्ण पौष्टिक आहार हो ।
जसमा प्रोटिन, क्याल्सियम, भिटामिन, खनिजलगायत शरीरलाई आवश्यक पर्ने प्रमुख पोषक तत्वहरू पाइन्छन् । त्यसैकारण मानव जीवनमा दूधको महत्वलाई गौण वा उपेक्षा गर्न सकिदैंन यसको उपयोगले मानव शरीरका हड्डी र दाँतको मजबुतीका लागि क्याल्सियम र फस्फोरसले प्रदान गर्नुका साथै कार्बोहाइड्रेट र फ्याट प्रदान गर्छ, जसले शरीरलाई ताजा र ऊर्जावान राख्छ । प्रतिरक्षा प्रणाली सुदृढ गर्न तथा रोग प्रतिरोधात्मक क्षमता बढाई बालबालिकाहरुको शारीरिक वृद्धि र विकासका लागि बाल्यकाल अवस्थामा दूध सेवन अती आवश्यक हुन्छ ।
अध्यक्ष दाहालका अनुसार नेपालको पछिल्लो तथ्यांक अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दुध सेवन गर्नुपर्नेमा हाल ८५ लिटर मात्रै सेवन हुने गरेकोले अब आगामी दिनहरुमा कम्तिमा बालबालिकाहरुको लागि मात्रै भए पनि ९२ लिटर पुर्याउनु पर्ने अनिवार्य आवश्यकता रहेको छ । यो परिमाण वृद्धि गर्न एसोसिएसन र आफ्नो व्यक्तिगत तर्फबाट अभियान सञ्चालन गर्ने दाहालको भनाई छ ।
प्रतिक्रिया