२०८२ भदौ २६ गते
चितवन । जिल्ला कारागार भरतपुरबाट निस्किएका कैदीबन्दीलाई प्रशासनको सम्पर्कमा आउन जिल्ला सुरक्षा समितिले अनुरोध गरेको छ ।
सुरक्षा समितिको तर्फबाट प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै जिल्ला कारागार भरतपुरबाट बुधबार बिहान गेट फोडेर निस्किएका कैदीबन्दीलाई प्रशासनको सम्पर्कमा आउन अनुरोध गर्नु भएको हो ।
अर्यालले जारी गरेको सूचनामा कारागार छोडेर निस्किएकै कारण कैदीबन्दीलाई फरक व्यवहार नगरिने तर, सम्पर्कमा नआए पक्राउ गरेर ल्याउने बताउनु भएको छ । चितवन कारागारबाट ७५० जनाको सङ्ख्यामा कैदीबन्दी हिजो बन्दोबस्तीको समानसहित निस्किएका थिए । उनीहरूले प्रहरीको सुरक्षा हातहतियार समेत लगेको सुरक्षा समितिले जनाएको छ ।
सूचनामा हातहतियार समेत फिर्ता गर्न भनिएको छ । हिजो केही कैदीबन्दीलाई भारतीय सीमाबाट नियन्त्रणमा लिइएको थियो । यसैगरी सुरक्षा समितिले बिस्तारै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने पनि जनाएको छ ।
प्रतिक्रिया