२०८३ जेठ २० गते
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि अन्तिम दिन सोमबार ५० जनाले आवेदन दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेपछि प्राधिकरणमा अध्यक्ष पदका लागि आवेदन माग गरिएको हो ।
आवेदकहरूमा बीमा क्षेत्रका विज्ञ, प्राधिकरणकै कार्यरत कर्मचारी, नेपाल राष्ट्र बैंकका बहालवाला तथा अवकाशप्राप्त अधिकारी र बीमा कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृतसमेत रहेका छन् ।
बीमाविज्ञ डा. रविन्द्र घिमिरे, नेपाल पुनर्बीमा कम्पनीका पूर्व सिईओ शंकर कुमार रायमाझी, नेपाल बीमा प्राधिकरणका निर्देशक कमलराज रेग्मी, उप निर्देशक विरोध भट्टले आवेदन दर्ता गराइसकेका छन् ।स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक डा. दामोदर बसौला,एशियन लाइफका पूर्व कर्मचारी प्रशान्त धमला,युनाईटेड इन्स्योरेन्सका पूर्व कामु सिईओ रमेश कुमार भट्टराई समेतले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकका केही कार्यकारी निर्देशकहरु तथा उप निर्देशकहरुले समेत उम्मेदवारी दर्ता गराएका छन् ।आवेदन दिनेहरुमा नेपाल राष्ट्र बैंकका पूर्व डुपेटी गभर्नर बम बहादुर मिश्र,नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी डा. राजेन्द्र पण्डित, बिष्णुबाबु मिश्र, झनकराज ढुंगेल रहेका छन् ।
यसपटकको प्रक्रिया यस अघिको प्रक्रियाभन्दा फरक छ । पहिले उम्मेदवारले व्यावसायिक कार्ययोजना बुझाउनुपर्ने र छनोटमा परेकाहरूले त्यसको प्रस्तुतीकरण गर्नुपर्ने बाध्यता थियो, तर अहिले व्यक्तिगत विवरण र स्वघोषणा फारम मात्र पेश गर्न भनिएको छ ।
प्रतिक्रिया