२०८३ साउन १८ गते
नेपाल आयल निगमले गए रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।
राति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरिएको निगमले जनाएको छ।
निगमले पेट्रोल प्रतिलिटर रु तीन, डिजेल र मट्टितेल रु पाँचले वृद्धि गरेको छ। यस्तै, हवाई इन्धन आन्तरिकतर्फ रु २० र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ।
इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ छ पैसा बढेर आएको छ ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर रु २०० पुगेको छ। सुर्खेत र दाङमा रु १९९ कायम भएको छ।
त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा १९७ रुपैयाँ ५० पैसा पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
यसअघि पेट्रोल प्रतिलिटर रु १९७ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १९५ रहेको थियो।
पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा रु एक अर्ब ४९ करोडबराबरको घाटा हुने जारी विज्ञप्तिमा उल्लेख छ।
निगमले केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको उतारचढावका कारण स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुँन नसक्दा घाटा बढेको जनाएको छ।
इन्डियन आयल कर्पोरेशनबाट साउन १५ गते प्राप्त नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँले मूल्य बढे पनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै थोरै मात्रै मूल्य वृद्धि गरिएको दाबी पनि निगमले गरेको छ।
निगमले पेट्रोलियम पदार्थको प्रयोगमा मिटव्ययी बन्न पनि उपभोक्तालाई आग्रह गरेको छ। ्
प्रतिक्रिया