शेयर बजारमा दोहोरो अंकको ओरालो, कारोबार रकम पनि खुम्चियो

२०८३ साउन १९ गते

शेयर बजारमा दोहोरो अंकको ओरालो, कारोबार रकम पनि खुम्चियो

काठमाडौँ । साताको दोस्रो कारोबार दिन पनि शेयर बजारमा गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन सोमबार ओरालो लागेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्तिलाई निरन्तरता दिँदै दोहोरो अंकले घटेर कारोबार टुंग्याएको हो। मंगलबार नेप्से परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा झरेको छ। 

 

Advertisement:

Ad
Ad

बजार परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ। सोमबार ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा मंगलबार ३४३ वटा स्टकको ५२ हजार २७२ पटकको कारोबारबाट ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैयाँबराबरका १ करोड ७ लाख ६१ हजार कित्ता शेयर किनबेच भएका छन्।

 

यस दिन पनि एभरेष्ट कलरको शेयरमा लगानीकर्ताको आकर्षण कायम रह्यो। कम्पनीको शेयरमूल्य लगातार १२औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, खानीखोला हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतभन्दा बढी र जोशी हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ। विपरीत, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ११.६७ प्रतिशतले घटेको छ।

 

कारोबार रकमका आधारमा मंगलबार खानीखोला हाइड्रोपावर अग्रस्थानमा रह्यो। कम्पनीको ४० करोड ६६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसपछि सिद्धार्थ बैंकको करिब १७ करोड रुपैयाँ तथा नेशनल हाइड्रोपावर कम्पनीको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

 

बजारका सबै १३ उपसमूह राताम्मे बनेका छन्। तीमध्ये उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक १.३१ प्रतिशतले घटेको छ। अन्य र व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लाग्दै समग्र बजारमा नकारात्मक दबाब देखिएको छ।