२०८३ साउन १९ गते
काठमाडौं । एनएमबी बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यससँगै बैंकको खुद नाफा वार्षिक आधारमा ४०.६ प्रतिशतले वृद्धि भएको हो।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत कायम भएको छ।यस अवधिमा प्रभावकारी स्रोत तथा दायित्व व्यवस्थापनका कारण बैंकको खुद ब्याज आम्दानी १७.५ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।त्यसैगरी, डिजिटल बैंकिङ र कारोबार विस्तारको सकारात्मक प्रभावका कारण शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले वृद्धि भई २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।ट्रेजरी व्यवस्थापन तथा वैदेशिक मुद्रा कारोबारबाट हुने आम्दानीमा उल्लेखनीय सुधार देखिएको छ। बैंकको खुद ट्रेडिङ आम्दानी ८९ प्रतिशतले बढेर ६८ करोड १४ लाख रुपैयाँ पुगेको छ।
नाफासँगै बैंकको प्रतिफल सूचकहरूमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा इक्विटीमा प्रतिफल ११.५८ प्रतिशत तथा सम्पत्तिमा प्रतिफल १.०४ प्रतिशत पुगेको बैंकले जनाएको छ।
बैंकले वित्तीय सूचकहरूमा आएको सुधारलाई प्रभावकारी स्रोत व्यवस्थापन, डिजिटल बैंकिङ सेवाको विस्तार तथा ट्रेजरी सञ्चालनको दक्षतासँग जोडेको छ।
प्रतिक्रिया