२०८० पुस २६ गते
काठमाडौँ । लगानी जुटाइसकेको प्रस्तावित विश्वकै सबैभन्दा लामो केबुलकार निर्माता मुक्तिनाथ दर्शन प्रालिले विस्तृत आयोजना प्रतिवेदन(डिपिआर)लगानी बोर्डमा बुझाएको छ।
परियोजना विकासकर्ता मुक्तिनाथ दर्शन प्रालीले बुधबार नै वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) पनि बुझाएको हो ।बोर्डले २०७६ जेठमा कम्पनीलाई आयोजनाको अध्ययन गर्न अनुमति दिएको थियो, त्यसको चार वर्षपछि कम्पनीले आयोजनाको डिपीआर दिएको हो ।कम्पनीले वातावरणीय अध्ययन प्रतिवेदन (इआईए) समेत बोर्डमा पेस गरेको छ । कम्पनीका अध्यक्ष अरुण सुवेदीले बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई उक्त डकुमेन्ट बुझाएका हुन् ।
डिपीआरअनुसार केबलकारको कुल लम्बाई ८१.०१४ किलोमिटर हुनेछ, जुन विश्वमा बनेका अन्य केबलकारहरूभन्दा लामो हो । परियोजनाको लागत भने ५५ अर्ब १८ करोड हुने कम्पनीले बुझाएको डिपीआरमा उल्लेख छ । यसै गरी उच्च अल्टीच्यूटलाई मध्यनजर गर्दै बिचमा थप एउटा स्टेसन बनाइनेछ ।
यो केबलकार कास्कीको नयाँ पुल (विरेठाँटी) बाट सुरु भएर मुस्ताङ स्थित मुक्तिनाथ मन्दिर परिसरमा टुङ्गिनेछ । नयाँ पुलको अल्टीच्यूट ११ सय मिटर हाराहारी छ । मुक्तिनाथको भने ३७ सय मिटर माथि छ ।
मुस्ताङ नेपालको उत्कृष्ट पर्यटक स्थल हो । हिमालय दृश्य, हिउँ र मुक्तिनाथ मन्दिर यसका मुख्य आकर्षण हुन् । तर, राम्रो सडक पूर्वाधार नहुँदा त्यहाँ पर्यटकलाई जान कठिनाइ हुँदै आएको थियो । सोही अवस्थालाई लक्षित गर्दै मुक्तिनाथ दर्शन प्रालिले यो परियोजना अघि बढाएको थियो । यो परियोजना बनेमा मुस्ताङ पुग्ने पर्यटकलाई धेरै सहज हुनेछ ।
कम्पनीले यो परियोजनाको अध्ययन जहाजबाट गरेको थियो । परियोजना स्थल भौगोलिक रूपमा निकै कठिन छ, त्यसैले अध्ययनमा जहाज प्रयोग गरिएको थियो । अध्ययनमा प्रयोग गरेको जहाज अस्ट्रेलियाबाट ल्याइएको थियो । अस्ट्रेलियाको एएमएम कम्पनीले जहाज ल्याएको थियो ।
अब बोर्डले आयोजनाको इआईए रिपोर्ट बन मन्त्रालयलाई बुझाउने छ । डिपीआर भने आफै अध्ययन गरेर स्वीकृत गर्नेछ । इआईए रिपोर्ट र डिपीआर स्वीकृत भए पश्चात परियोजना निर्माणको काम सुरु हुनेछ ।यो आयोजनामा भारतको के एन्ड आर इन्जिनियरिङ लिमिटेड लगानी र डिजाइन गर्ने गरी ठेक्का लिएको थियो । त्योअनुसार परियोजनामा लगानी सुनिश्चित भइसकेको छ ।
प्रतिक्रिया