तनहुँमा पाडी र बाछी हुर्काउन अनुदान

२०८१ वैशाख ०२ गते

तनहुँमा पाडी र बाछी हुर्काउन अनुदान

तनहुँ । तनहुँ गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका सात सयवटा पाडी र बाछी हुर्काउन रु १० हजारका दरले अनुदान दिन लागेको हो । विगत तीन वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा राजेशकुमार चौधरीले पहिलो वर्ष एक सय, दोस्रो वर्ष दुई सय र तेस्रो वर्ष सात सयवटा पाडी र बाछीका लागि बजेट विनियोजन गरेको जानकारी दिए ।

Advertisement:

Ad
Ad

पाडी/बाछीका लागि रु ७० लाख बजेट विनियोजन भएको छ । उनले भने, “तीन सय किसानले छ सय २८ पाडी र बाछीका लागि आवेदन दिइसकेका छन् ।”

आवेदनका आधारमा किसानका गोठमा पुगेर स्थलगत अनुगमन गरी अनुदान दिइनेछ । एकजना पशुपालक किसानले बढीमा पाँच वटासम्म पाडी र बाछीका लागि अनुदान पाउने केन्द्रले जनाएको छ ।

बाह्य जिल्लाबाट ल्याइएका पशुका तुलनामा जिल्लाभित्रै हुर्किएका पाडी र बाछीमा कम रोग लाग्ने भएकाले पशु आयात न्यूनीकरण गर्न अनुदान दिएको केन्द्रका प्रमुख चौधरीले बताउनुभयो । अनुदान पाउनका लागि पाडी र बाछीको उमेर एक वर्ष पुरा भएको हुनुपर्ने मापदण्ड राखिएको छ ।

रासस