सिंहदरबार भित्र नेपाली जुत्ता हुनपर्छ, पोशाक भत्ता लिने नेपाली जुत्ता नलगाउने ठिक होइन- रुद्र न्यौपाने

२०८१ भदौ २६ गते

सिंहदरबार भित्र नेपाली जुत्ता हुनपर्छ, पोशाक भत्ता लिने नेपाली जुत्ता नलगाउने ठिक होइन- रुद्र न्यौपाने

काठमाडौँ । राष्ट्र राष्ट्रियता माथि कसलाई गर्व लाग्दैन । स्वदेशी चिजबिजको कसलाई माया लाग्दैन । नागरिकहरु यतिसम्म सचेत भइसकेका छन् कि बजारमा कुनै पनि माल बस्तु दुई रुपैयाँ महंगो तिरेर भएपनि स्वदेशमा उत्पादित प्रयोग गर्न अचेल रुचाउँछन् । त्यसो भए स्वदेशी जुत्ता चपपल कति प्रयोग हुन्छ त ? के सबै नेपाली स्वदेशी जुत्ता लगाउँछन् त ? प्रश्न गर्दा धेरैले भन्ने गरेका छन्– ‘अवश्यपनि लगाइन्छ तर गुणस्तर, टिकाउ र आरामदायी हुनपर्छ ।’

नेपालमा यतिखेर जुत्ता चप्पल बनाउने उद्योगमात्र १५सय बढी छन् भने यो क्षेत्रमा ४० अर्ब बढीको लगानी रहेको छ । कूल बजारको ७० प्रतिशत हिस्सा ओगटेको यो क्षेत्र कसरी अघि बढिरहेको छ ? नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनका अध्यक्ष रुद्र न्यौपानेसँग वाणिज्यपोष्टकर्मी रुपा घिमिरेले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गर्दैछौँ ।

Advertisement:

Ad
Ad

कस्तो छ नेपाली जुत्ता चप्पलको बजार ?

अहिलेको फूटवेयरको अवस्था भनेको नेपालमा वार्षिक १० करोड जोर जुत्ता खपत हुन्छ । जसमध्ये ६ करोड बढी जुत्ता नेपालमै उत्पादन र खपत हुन्छ । बाँकी ४ करोड मात्रै आयातीत हुन्छ त्यसमध्ये २ करोड जती चोरी पैठारीबाट भैरहेको छ । नेपालको झण्डै १५ करोड जोडी जुत्ता उत्पादन गर्न सक्ने क्षमता हुँदा हुँदै पनि जती उपभोग हो त्यो कम भैरहेको छ । यद्यपि कूल उपभोगको हिसावले कुरा गर्ने हो भने हामी ६५ बाट ७० प्रतिशतमा पुग्दैछौँ,जुन चित्तबुझ्दो हो । यही हिसावले जाँदा २ वर्षमै आत्मनिर्भर हुन्छौँ भन्ने लक्ष्य छ । निर्यातकै कुरा गर्दा अघिल्लो वर्ष भन्दा यो वर्ष ७० प्रतिशतले निर्यात बढेको छ । अघिल्लो वर्ष ७० लाख जोर जुत्ता निर्यात भएको थियो भने अहिले १ करोड २० लाख जोडी निर्यात भैरहेको छ । आगामी वर्ष २ करोड जोडी जुत्ता चप्पल निर्यात गर्ने लक्ष्य छ । निर्यात बढाउन हामीले निर्यातसँग सम्वन्धित निकायसँग छलफल गर्ने, समस्यासँग सम्वन्धित छलफल गर्ने कुराहरुमा लागिरहेका छौँ । समग्रमा हेर्दा भविश्य राम्रो छ वर्तमान पनि निराशाजनक होइन फरक यत्ति हो अहिले तिब्र आन्तरिक प्रतिस्पर्धा छ ।

१५ सय जुत्ता कम्पनी हुँदा हुँदै पनि नेपाली यो चाहीँ ब्राण्डको निकै राम्रो छ भन्ने मानक बनाएको पाइएन किन होला ?

हाम्रो उत्पादन क्षमता र बिक्री वितरण क्षमतामा फरक आएको पक्कैे हो । कुनै बेला नेपाली ब्राण्ड सुन्दा धेरै हाई हाई थियो । अर्को कुरा अहिले बिस्तारै प्रविधिको प्रयोग गरेर विश्वबजारका उत्पादन सहजै प्रयोग गर्न पाउने व्यवस्थाले पनि थोरै नेपाली ब्राण्डहरु छायाँ मा पर्न पुगे । कतिपय ब्राण्डहरु यहि बेलामा स्थापित पनि भएका छन् । अव नेपालमा आफ्ना बस्तु नाम स्थापित गराएर बेच्ने समय आएको छ । टेक्निकल र कच्चा पदार्थ निर्माणको हिसावले पनि हामी अब्बल बन्दै भइरहेका छौँ । जनशक्तिका हिसावले कुरा गर्दा पनि धेरै मेहनत गरेर योग्य क्षमतावान कालिगढ निर्माण गरिरहेका छौँ । उपभोग गर्ने र सुन्ने बराबर भएका छन् । नेपालका जुत्ता कम्पनीहरुले राम्रो गरिरहेका छन् । थप राम्रो भएर जाने छन् ।

जुत्ता उद्योगको पहिलो चुनौति भनेको चोरी पैठारी भएर आउने जुत्ता चप्पल हो ?

बाहिरबाट आएका जुत्ताहरु देख्दा उस्तै देखिने तर असाध्यै धेरै कमशल जुत्ता आउँछन् जसले भन्सार भ्याट केही तिर्न पर्दैन मात्र ढुवानी भाडा तिरे पुग्छ । त्यती गर्दा खेरी हाम्रो कच्चा पदार्थको भन्सार भ्याट टीडीएस सबै तिर्नपर्ने हुन्छ । चोरी पैठारीबाट आएका जुत्ताहरु यति इन्फर्मल तरिकाबाट बजारमा छ्यापछ्याप्ती छन् कि न तिनिहरुको आयकर तिरेको हुन्छ न अन्य राजश्व । दिउँसै सरकारको आम्दानी घटेको छ सरकारको राज्यकोष लुटिएको छ तर सरकार आँखा चिम्लिएर बसेको छ । चोरी पैठारी नहुने हो भने डेढ वर्षमा उपभोग ८५ प्रतिशत हुन्थ्यो भने २ वर्षमा त सतप्रतिशत हुन्थ्यौँ शंकै छैन ।

नेपाली जुत्तालाई भारतीय बजारमा निरुत्साहित गर्न भारतले आइबीएस स्ट्याण्डर्डको नाममा नेपाली एनएस चिन्हलाई अमान्य हुने नियम लगाएकोे छ यसले निर्यातमा कस्तो असर पुगेको छ ?

भारतको गुणस्तर विभागले नेपालको गुणस्तर मापनलार्ई मान्यता दिइरहेको छैन । कित सरकारी तवरबाट कुरा गरेर १ महिनाभित्र भारतले गुणस्तरको मापदण्ड नेपाललाई पठाओस्, भारतले आफ्नो मात्र जुत्ता उसको बजारभित्र ब्रिक्री गर्न चाहेको बुझिन्छ । डब्लूटीओको सदस्य राष्ट्र भएको हिसावले सिधै प्रतिवन्ध लगाउन नमिलेपनि अप्रत्यक्ष घुमाउरो ढंगले आफ्नो मात्र उत्पादन बजारमा प्रोत्साहित गर्न खोजेको छ । यसमा हाम्रो सरकारको तर्फबाट लबिङ पुगेको छैन ।

तपाइँहरु माथि चीन या भारतमा पूर्ण निर्मित अर्थात फिनिसिङ भएको जुत्ता ल्याएर नेपालमा आफ्ना उद्योगको नाम र स्टिकर टाँस्ने गरेको आरोप छ नी ?

यो गलत आरोप हो, अहिले यो सम्भव नै छैन । उपभोक्ताले नै यो कुराहरु पत्याउँदैनन् । किनभने नेपालमा जुत्ता उत्पादन आवश्यक भन्दा बढी भैसक्यो चाइना या भारतबाट चोरी पैठारी नहुने हो भने यहाँ बनेको जुत्ता धेरै सस्तोमा बजारमा पाइने अवस्था हुन्छ । बाहिरबाट गुणस्तरीय जुत्ता वैधानिक तवरबाट ल्याएर बेच्दा यहाँ महंगो पर्ने अवस्था छ । बरु अहिले हामीमाथि सबै जुत्ता नेपालमै बन्छ तर बाहिर बनेको भनेर बेच्छन् भन्ने पनि आरोप छ । हामी के भन्छौँ भने मल्टिनेशनल ब्राण्डका जुत्ता पनि नेपालमा एसेम्बल गर्न ल्याउँछन् भने उनिहरुले भनेको जस्तो गरी तयार पारेर हामी जुन मुलुकमा निर्यात गर्न पर्ने हो निर्यात गर्न सक्ने अवस्थामा पुगेका छौँ । हामी धेरै सक्षम भइसकेका छौँ ।

सरकारसँग लबिङ गरेर सरकारी कामकाजमा नेपाली जुत्ता अनिवार्य गराउने तपाइँको अभियान के हुँदैछ ?

अहिलेको प्रधानमन्त्रीले म सिंहदरबार छिर्दा दुई दिन मात्र भनेपनि पूर्ण रुपमा स्वदेशमा निर्मित पोशाक (कपडा र जुत्ता) लगाएर मात्र छिर्नेछु भनेर प्रतिवद्धता जाहेर गर्नुभएको थियो । प्रधानमन्त्री जत्तिको व्यक्तित्वले बोलेको कुरा उहाँ आफूले पनि लगाउने र अरुलाई पनि लगाउन प्रोत्साहित गर्नुहुने छ भनेर म आशावादी छु । हामीले प्रश्न गरिरहेका छौँ,उहाँहरुलाई पोशाक भत्ता लिनेले स्वदेशी जुत्ता नलगाउने भन्ने हुन्छ ?कुनै हिसावले पनि हाम्रा उत्पादन विदेशी जुत्ता भन्दा कम छैनन् । हामी अहिले मल्टिनेशनल ब्राण्डको क्वालिटी दिन सक्छौँ त्यो पनि रिजनेबल मूल्यमा । फेरी पनि सबैलाई हाम्रो आग्रह छ, एक पटक नेपाली जुत्ता लगाइदिनुस् । नेपाली पोशाक भत्ता लिने नेपालमा समाजसेवा गर्ने , नेताहरु सबैले नेपाली उत्पादन लगाउनपर्छ । राष्ट्रियताका खोक्रो आदर्शले हामी विश्वस्त हुन सक्दैनौँ । राष्ट्रिय उत्पादन प्रयोग गर्ने र उत्पादकहरुलाई प्रोत्साहित गर्ने नैतिक दायित्व हो भन्ने हामीलाई लागेको छ गर्न पनि पर्छ ।

कच्चा पदार्थ नेपालमै पर्याप्तता छ कि बाहिरैबाट ल्याउन पर्ने अवस्था के छ ?

कच्चा पदार्थ हामीले अहिले ३५ देखि ४० प्रतिशत स्वदेशी प्रयोग गछौँ दिनहुँ यो बढ्ने क्रम छ । बाँकी बाहिरबाटै ल्याउँछौँ ।

नेपाली जुत्ता प्रयोगकर्ताहरु कत्तिको सन्तुष्ट छन् ?

नेपाली जुत्ता लगाइदेउ भनेर हल्ला गरेर मात्र हुँदैन । उपभोक्ताकोे चित्त बुझाउने जिम्मेवारी पनि हामी उद्योगीको हो । ५÷७ सय मूल्य तिरेर नेपाली जुत्ता लगाउन खोज्नेहरुलाई पनि हामीले सोही अनुरुपको जुत्ता उत्पादन गरेर दिइरहेका छौँ । आरामदायी,गुणस्तर,फेशनेबल र सुपथ मूल्य सबै हिसावले नेपाली जुत्ता विदेशी ब्राण्डेड जुत्ता भन्दा कम छैन । हामी कूल बजार हिस्साको ६५ प्रतिशत उत्पादनमा पुगिसकेका छौँ भन्नुको अर्थ अधिकांशले हाम्रो उत्पादन प्रयोग गर्छन् मन पराउँँछन् भन्ने हुन्छ ।त्यसैले त हामी टिक्न सफल भएका छौँ ।

#rudraneupane