शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ६ अर्ब ८३ करोड

२०८१ चैत ०३ गते

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ६ अर्ब ८३ करोड

काठमाडौँ। साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २१.६३ विन्दुले घटेर २७१४.८५ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.७९ प्रतिशतले घटेको हो ।

यस दिन नेप्सेका १३ वटा उपसमूहमा व्यापार उपसमूहको परिसूचक मात्र ४ . ९२ प्रतिशतले बढेको छ भने बाँकि १२ उपसमूहका परिसूचक घटेका छन् । आज सर्वाधिक घट्ने उपसमूहमा विकास बैंक उपसमूह रह्यो जसको परिसूचक २.२५ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

नेप्से परिसूचक घटेसंगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन आठ अर्ब २३ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ७९ हजार दुई सय ३६ पटकको कारोबारमा छ अर्ब ८३ करोड बराबरको किनबेच भएको छ । जसमा ३१ कम्पनीका शेयर बढेका छन् भने २०७ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी छ कम्पनीका शेयर स्थिर रहेका छन् ।

आइतबार सर्वाधिक बढ्ने स्टकमा सामुदायिक लघुवित्त रह्यो जसको शेयर ८.१९ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा ग्रिन डेभलपमेन्ट बैंक रह्यो जसको शेयर ७.९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रह्यो जसको ५८ करोड ६६ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा घलेम्दी हाइड्रोपावरको शेयर रह्यो जसको ११ लाख ९३ हजार कित्ता शेयर किनबेच भएको छ।