२०८० फागुन १५ गते
काठमाडौँ । सीआईबीले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई पक्राउ गरेको छ । उनलाई सेन्चुरी बैंकमा तत्कालीन सीईओ रहँदा कर्जा प्रवाहमा अनियमितता गरेकाे आरोपमा प्रहरीले पक्राउ गरेकाे हाे । उनी लगायत सेन्चुरी बैंककै पूर्व सीईओ तुलसीराम गौतम सहित ९ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे। मनोज न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओको रुपमा कार्यरत छन् ।
सीआईबीका अनुसार सेन्चुरी बैंकमा रहँदा भएको घटनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हाे । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार तीन वटा कम्पनीलाई न्यौपानेले कमसल धितो राख्दै ऋण प्रवाह गरेको पाइएकाे हाे ।
गत पुसमा सेन्चुरी बैंक प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ बनाइएको थियाे । प्रभुले सेन्चुरी बैंकलाई १ः१ को स्वाप अनुपातमा प्राप्ति गरेको हो ।
मंगलबार प्रभुको केन्द्रीय कार्यालय बबरमहलबाट न्यौपानेसहित चार जना र अन्य पाँच जनालाई कमलादी कार्यालयबाट पक्राउ गरिएकाे हाे । पक्राउ पर्नेमा प्रभु बैंकका कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी रहेका छन् । यसैगरी, सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत र सन्ध्या श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिइएकाे हाे। यसका साथै प्रहरीले यस अनियमिततामा संलग्न अन्य केहीको खोजी गरिरहेको छ ।
नेपाल राष्ट्र बैंकले सेञ्चुरी बैंकमा भएका कर्जा दुरुपयोगसम्बन्धी फाइल अध्ययन गर्न सीआईबीलाई अनुरोध गरेपछि सिआइबीको प्रारम्भिक अध्ययनमा न्यौपानेसहितका कर्मचारी दोषी देखिएका थिए। जसपश्चात उनीहरूलाई पक्राउ गरिएको सिआइबीले जनाएकाे छ ।
प्रतिक्रिया