रास्वपा सभापति रवि लामिछाने सहित १८ जनाविरुद्ध अनुसन्धान सुरु

२०८० माघ २३ गते

रास्वपा सभापति रवि लामिछाने सहित १८ जनाविरुद्ध अनुसन्धान सुरु

लेखनाथ। कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सोमबार पीडितहरुले पूरक जाहेरी दिएपछि थप व्यक्तिहरुविरुद्ध अनुसन्धान सुरु भएको हो ।

कास्कीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले प्रहरीका पूरक जाहेरी प्राप्त भएपछि अनुसन्धान थालिएको जानकारी दिए । “पूरक जाहेरी छुट्टै दर्ता गर्नु पर्दैन, पुरानै मिसिलमा थप्ने हो, दर्ता नम्बर पनि पुरानै हुन्छ । सूर्यदर्शनबारे थप व्यक्तिहरुमाथि अनुसन्धान थालेका छौँ,” उनले भने ।

Advertisement:

Ad
Ad

सूर्यदर्शन सहकारीका पीडितले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, लेखनाथका व्यवसायी नेत्रपाणि बास्तोला, सहकारीकै पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन लगायतविरुद्ध जाहेरी परेको छ । पीडितहरुले १४ संस्थाहरुविरुद्ध पनि जाहेरी दिएका छन् ।

सहकारीका सञ्चालक जिबी राईको समूहले गैरकानुनी तवरले सूर्यदर्शनबाट अरु विभिन्न संस्थामा रकम पठाउने, ऋण दिने गरेकाले ती संस्थाविरुद्ध पनि अनुसन्धान गर्नुपर्ने माग छ ।

पोखरा महानगरको सहकारी शाखाको प्रतिवेदनअनुसार सूर्यदर्शन सहकारी ठगी कान्डमा यसअघि नै १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । महानगरको सहकारी शाखाको प्रतिवेदनले सभापति लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड रकम जम्मा भएको औंल्याएको छ ।

कास्की प्रहरीले तीन पटक फर्काएको जाहेरी सोमबार लिएको हो । अब अनुसन्धान गरी पूरक प्रतिवेदन तयार गर्ने र दोषी पाइएमा सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । अब सूर्यदर्शनका ऋणीहरुमाथि पनि अनुसन्धान हुने कास्कीका प्रहरी प्रमुख थापाले बताए ।

काठमाडौंमा रहेको ग्यालेक्सी टिभीका अध्यक्ष रहेका जीबी राईसहितको समूहले सूर्यदर्शनको एक अर्ब ३५ करोड हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यसअघि नै जाहेरी परेका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा चार जना प्रक्राउ परेका छन् भने बाँकी फरार छन् ।

सूर्यदर्शनका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र सञ्चालक समिति सदस्य भविश्वर अर्याल अहिले पुर्पक्षका लागि थुनामा छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपियाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका पूर्वअध्यक्ष जीबी राई लगायतको विरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको छ । इन्टरपोलले माघ १२ गते सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई र जिबीका दाजु भूपेन्द्र राईविरुद्ध नोटिस जारी गरिसकेको छ ।