राष्ट्र बैंकको तथ्यांक - ७ महिनामा कुल व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड

२०८० फागुन २७ गते

राष्ट्र बैंकको तथ्यांक - ७ महिनामा कुल व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड

काठमाडौं। चालु आर्थिक वर्षको ७ महिनामा कुल व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । आइतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको ७ महिनामा भन्दा व्यापार घाटा घटेको पाइएको हो ।

आयात र निर्यात घट्दा व्यापार घाटा पनि घटेको छ । चालु आवको ७ महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले कमी आई रु.८११ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो ।

Advertisement:

Ad
Ad

७ महिनामा कुल वस्तु निर्यात ७.१ प्रतिशतले कमी आई रु.८६ अर्ब ८३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११.३ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ३३८.८ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैंची, चिया, ऊनी गलैचा लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल वस्तु आयात २.३ प्रतिशतले कमी आई रु.८९७ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.९ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.८ प्रतिशत र २३.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३८.४ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा तयारी पोशाक, सवारी साधान तथा स्पेयर पार्टपुर्जा, हवाइजहाज स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइल लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, धान तथा चामल, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु.८८ अर्ब १८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.७१ अर्ब ७८ करोड बराबरको भएको थियो ।