प्रधानमन्त्री दाहालद्वारा एनसेलको शेयर बिक्रीबारे अध्ययन गर्न निर्देशन

२०८० मंसिर १८ गते

प्रधानमन्त्री दाहालद्वारा एनसेलको शेयर बिक्रीबारे अध्ययन गर्न निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर बिक्रीबारे अध्ययन गर्न निर्देशन दिएका छन् । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत शेयर खरिद–बिक्रीको विषयमा तत्काल अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालको सचिवालयकाअनुसार राजश्व विभाग लगायतका निकायलाई एनसेलको शेयर खरिदको छानबिन गर्न निर्देशन दिएका छन् । बिहीबार एनसेलमा रहेको मलेसियाको आजियाटा कम्पनीको ८० प्रतिशत शेयर व्यवसायी सतिशलाल आचार्यले खरिद गरेका थिए ।

Advertisement:

Ad
Ad

एनसेलको शेयर बिक्रीबारे संघीय संसद्को सार्वजनिक लेखा समितिले पनि चासो व्यक्त गरेको थियो । सरकारी निकायलाई जानकारी नै नदिई शेयर खरिद–बिक्री भएपछि समितिले चासो राखेको हो ।

सरोकारवाला निकायलाई लेखा समितिले प्रश्न गर्दै विवरण माग गरिसकेको छ । यस विषयमा प्रधानमन्त्रीले पनि चासो व्यक्त गर्दै तत्काल अध्ययन गर्न निर्देशन दिएका हुन् ।

एनसेलको ८० प्रतिशत शेयर ५ करोड डलरमा बिक्री भएको बिषयले राज्यका सबै निकायलाई ससंकित बनाएको छ । विगतदेखि नै एनसेलको शेयर खरिद बिक्री विवादस्पद रहेकोमा हाल पुनः सतिशलाल आचार्यले खरिद गरेको ८० प्रतिशत शेयरको बिषयले थप प्रश्न उठाएको छ ।

खासगरी ८ बर्ष अघि १ अर्ब ३१ करोड ५० लाख अमेरिकी डलर अर्थात १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको सम्पत्ति आजियाटाले ५ करोड डलर अर्थात् ६ अर्ब ६० करोड रुपैयाँमा बिक्री गरेर बाहिरिएपछि कर छलीको स्पष्ट बाटो तर्फ लागेको अनुमान विज्ञहरुले गरेका छन् ।