ओलीको नेपाल भ्रमणको निम्तापत्र मोदीलाई हस्तान्तरण

२०८१ भदौ ०४ गते

ओलीको नेपाल भ्रमणको निम्तापत्र मोदीलाई हस्तान्तरण

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा (देउवा)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् । सोमबार साँझ भारतको नयाँदिल्ल्लीमा भएको भेटवार्ताका क्रममा उनले मोदीलाई नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेकी हुन् ।

करिब आधा घण्टा भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको निमन्त्रणापत्र मन्त्री राणाले मोदीलाई हस्तान्तरण गरेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement:

Ad
Ad

भेटवार्तामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री राणाबाहेक भारतका लागि नेपालका कार्यवाहाक राजदूत सुरेन्द्र थापालगायतसमेत सहभागी थिए । यस्तै भारतको तर्फबाट विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवललगायत सहभागी थिए । भेटपछि मोदीले नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

‘भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील र बहुआयामिक साझेदारी छ। हाम्रो विकास साझेदारीमा निरन्तरताको आशा छ’, मोदीले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन् ।यस्तै भेटवार्तापछि राणाले मोदीसँग नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको जानकारी दिइन् ।

नेपालको परराष्ट्रमन्त्रीका रुपमा आफ्नो भारत भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट दुई देशबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा लिएको राणाले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएकी छन्।

सोमबार नै राणाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन् । राणा औपचारिक भ्रमणको सिलसिलामा आइतबार भारत प्रस्थान गरेकी थिइन् । उनको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ ।