नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण, मौद्रिक नीतिमा लचकता अपनाउन सुझाव

२०८० चैत २९ गते

नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण, मौद्रिक नीतिमा लचकता अपनाउन सुझाव

काठमाडौं । नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०/०८१ मा क्रमशः सुधार हुँदै जाने अध्ययनले देखाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशियाली विकास बैंक (एडिबी) को प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक (एशियाली विकास परिदृश्य) २०८० ले आर्थिक वर्ष २०८०/८१ मा नेपाली अर्थतन्त्र ३.६ प्रतिशत (बजार मूल्यमा) ले वृद्धि हुने प्रक्षेपण गरेको हो ।

जुन गत आर्थिक वर्ष २०७९/८० को अनुमानित १.९ प्रतिशत वृद्धिको तुलनामा केही बढी हो । मौद्रिक नीतिमा लचकता हुनपर्ने सुझाव सँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहीत हुने अपेक्षा गरिएको छ । सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तिब्रता र आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म थप जलविद्युत परियोजनाको उत्पादन सुरु भई आर्थिक औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ ।

Advertisement:

Ad
Ad

कर्जा नियन्त्रणमा सहजता, व्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले गति लिने अध्ययनको निष्कर्ष रहेको छ । धान उत्पादनमा वृद्धि भएपनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि आर्थिक वर्ष २०७९/८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको सीमान्त वृद्धि हुनसक्ने अध्ययनले देखाएको छ । नेपालमा औसत मुद्रास्फिति आर्थिक वर्ष २०७९र८० को ७।७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा ६.५ प्रतिशतमा झर्ने प्रक्षेपण रहेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा वचतमा रहेपनि चालु खाता पुनः घाटामा जानसक्ने अध्ययनले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष २०८०/८१ मा ४.७ प्रतिशतले घटेको छ भने सो अवधिमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएको छ भने चालु खाता वचत १.२ बिलियन अमेरिकी डलर पुगेको छ । यद्यपि यस आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले आर्थिक वर्ष २०८०/८१ मा चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ०.७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण छ ।

प्रतिवेदन सार्वजनिक गर्दै एडिबीका सिनियर इकोनोमिक अफिसर (वरिष्ठ आर्थिक अधिकारी) मानवर एस खड्काले यस आर्थिक वर्षमा कृषिको उत्पादन सन्तोषजनक रहने बताए । उनले मलखादरको व्यवस्थापनमा विगतमा जस्तो समस्या नरहेकाले र विपद्बाट पनि धेरै क्षति नभएकाले कृषि उत्पादन सन्तोषजनक रहने बताए । उर्जा क्षेत्रमा सबस्टेशन, ट्रान्समिसन लाइन बनिरहनुले पनि अर्थतन्त्रमा सकारात्मक उर्जा प्रवाह गरेको जानकारी दिए ।

कन्ट्रक्शन म्यानुफ्याक्चरिङमा स्लो डाउन रहेको बताए । पर्यटकको आवागमनबाट पनि अर्थतन्त्रमा उर्जा थपिएको बताए । विदेशी पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रलाई सबल बनाउनुका साथै रोजगारी वृद्धि भइरहेको जानकारी दिए ।

‘यो प्रक्षेपण हो । विश्व बैंकले गरेको प्रक्षेपणमा पनि ३.३ भन्ने आएको छ । एडिबीको ३.६ हामीले भनेका छौँ । यो आर्थिक वर्षको राष्ट्रिय तथ्यांक कार्यालयले पनि जिडिपीको तथ्यांक निकालिसकेको छ । यो अफिसियल तथ्यांकलाई हामीले मान्नु नै पर्छ । त्यसलाई सुधार गर्न औजारहरु मौद्रिक नीतिबाट, त्यस्तै गरी यो अर्धवार्षिक समीक्षाबाट पनि आएका छन् । पर्यटन क्षेत्र महत्वपूर्ण छ । कोभिडको भन्दा धेरै नै राम्रो भएको छ । होटलहरु बन्ने क्रम जारी छ, पर्यटकीय गन्तव्य बढिरहेका छन्, यसले सकारात्मक उर्जा पैदा भइरहेको छ । विदेशी पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रमा पनि सहयोग भइरहेको छ’, उनले भने ।

एडिबीले गरिबी निवारणको आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एशिया प्रशान्त क्षेत्र हासिल गर्न प्रतिवद्ध रहेको बताएको छ । अहिलेसम्म एडिबीले नेपालका लागि ४९४ सरकारी ऋण, अनुदान तथा प्राविधिक सहायता गरी कुल ७.७ बिलियन डलरको प्रतिवद्धता जनाएको छ । सञ्चित ऋण र अनुदान गरी नेपाललाई कुल ४.९१ बिलियन डलर निकासा गरेको छ ।