२०८० पुस २१ गते
लमजुङ। लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ। बगैंचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो।
बेंसीसहर नगरपालिका-११ चिती स्याउतका भगवती पन्तको १३ रोपनी जग्गामा ६ सयभन्दा बढी सुन्तलाको बोट छन्। उनले एक दशकअघि सुन्तलाबाट बर्सेनि ६ लाखदेखि ७ लाखसम्म आम्दानी गर्दैआएकी थिइन। तर, पछिल्लो समय बर्सेनि सुन्तलाका बोट घट्दै छ। यस वर्ष मुस्किलले ८० हजार रुपैयाँसम्म आम्दानी गरेको उनको भनाइ छ। घर खर्च चलाएर पनि बचत हुने गरेकामा यतिबेला सुन्तला उत्पादन घट्दै गएको उनले बताइन।
जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत गरेको स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादन घट्दै गएको छ। एक दशकअघिसम्म गाउँभरिका बगैंचाबाट वार्षिक दुई करोड रुपैयाँसम्म सुन्तला बिक्रीबाट किसानले आम्दानी गरेका थिए। ६/७ वर्षयता १० लाख रुपैयाँसम्म मात्रै आम्दानी गरेका स्थानीय रमेशराज पन्तले बताए। विगत वर्षमा पर्याप्त सुन्तला उत्पादन हुने चिती, गाउँसहर, सिम्पानी, भोर्लेटार, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदिपुर घिमिरेलगायतका गाउँमा समेत उत्पादनमा कमी आएको किसानले बताएका छन्।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विजय पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा एक सय ३० हेक्टर क्षेत्रफलमा लगाएको खेतीबाट चार सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत आर्थिक वर्ष जिल्लामा एक सय २५ हेक्टर जमिन क्षेत्रफलमा लगाइएको खेतीबाट पाँच सय २५ मेट्रिक टन उत्पादन भएको थियो। सुन्तला खेतीको क्षेत्रफल बढे पनि उत्पादन एक सय २५ मेट्रिक टन कम भएको सूचना अधिकारी पौडेलले बताए।
त्यस्तै, आव २०७८/७९ मा एक सय ८० हेक्टर क्षेत्रफलमा एक हजार दुई सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। आव २०७७/७८ मा दुई सय १३ क्षेत्रफलमा एक हजार चार सय २४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। कृषि ज्ञान केन्द्रका अनुसार पछिल्ला वर्षमा क्रमशः क्षेत्रफल र उत्पादन घट्दै गएको छ। विभिन्न रोग, कीरा लाग्नुका साथै सुन्तला उत्पादनतर्फ किसानको पर्याप्त ध्यान नपुगेकाले उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ।
सुन्तलाको बोट तथा सुन्तलामा कत्लेकीरा, पतेरोलगायतका कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा सुन्तला किसानले ध्यान नपुगेकाले सुन्तला बगैंचा मासिँदै छ। जिल्लामा उत्पादन भएको सुन्तला काठमाडौं, पोखरा, चितवनलगायत सहरमा बिक्री गर्ने गरिएको छ। रासस
प्रतिक्रिया