२०८३ जेठ १९ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यतिबेला भारत भ्रमणमा रहेका छन् । लामिछानेलाई भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी ९भाजपा० का राष्ट्रिय अध्यक्ष नितिन नवीनले विशेष स्वागत तथा आतिथ्यता प्रदान गरेका छन् ।
सोमबारदेखि भारत भ्रमणमा रहेका लामिछानेले यस भेटका क्रममा नवीनलाई नेपालको विशिष्ट धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचान झल्काउने विभिन्न महत्वपूर्ण उपहारहरू प्रदान गरेका छन् ।
उपहारहरूमा अष्ट चिरञ्जीवीको सूची, पशुपतिनाथ मन्दिरको कलात्मक चित्र, पवित्र चन्दन र रुद्राक्षको माला समावेश रहेका छन्, जसले दुई देशबीचको प्राचीन र गहिरो सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
भेटका क्रममा प्रदान गरिएको अष्ट चिरञ्जीवीको सूचीमा हिन्दू धर्मग्रन्थहरूले उल्लेख गरेका ती आठ महान् व्यक्तित्वहरूको विवरण छ, जसलाई युगौँयुगसम्म जीवित रहने वरदान प्राप्त छ ।
यसमा गुरु द्रोणाचार्यका पुत्र अश्वत्थामा, दानवीर असुर राजा महाबली, महाभारतका रचयिता वेदव्यास, शक्ति र भक्तिका प्रतीक हनुमान, सत्यको मार्ग रोज्ने विभीषण, महाभारत कालका गुरु कृपाचार्य, भगवान विष्णुका छैटौँ अवतार परशुराम र अमरत्व प्राप्त मार्कण्डेय ऋषिको चर्चा गरिएको छ ।
धार्मिक मान्यताअनुसार यी अष्ट चिरञ्जीवीको स्मरणले आयु, बल, ज्ञान र कल्याण प्राप्त हुने भएकाले यस उपहारलाई विशेष आध्यात्मिक सन्देशका रूपमा हेरिएको छ ।
त्यसैगरी, लामिछानेले उपहारका रूपमा भगवान पशुपतिनाथ मन्दिरको एउटा अत्यन्तै सुन्दर र कलात्मक हस्तनिर्मित चित्र पनि प्रदान गरेका छन् ।
सुन र चाँदीको प्रयोग गरी तयार पारिएको यो चित्रले नेपालको मौलिक कला र धार्मिक परम्पराको उत्कृष्ट नमुना प्रस्तुत गर्दछ । यो कलाकृति भक्तजन र कलाप्रेमी दुवैका लागि विशेष अर्थ राख्ने किसिमको छ ।
यसका साथै, पशुपतिनाथको गर्भगृहमा रहेको पवित्र शिवलिंगमा अर्पण गरिने चन्दनको प्रतीक पनि उपहारस्वरूप दिइएको छ । शिवलिंगमा लगाइने यो चन्दनले भगवान शिवको तेस्रो नेत्र अर्थात् ज्ञान, शक्ति र दिव्य चेतनाको स्वरूपलाई प्रतिनिधित्व गर्दछ ।
पवित्रता र आध्यात्मिक ऊर्जाको प्रतीक मानिने यो चन्दनलाई विभिन्न धार्मिक अनुष्ठानहरूमा अत्यन्तै महत्वका साथ प्रयोग गरिन्छ ।
प्रतिक्रिया