के छ कतारी राजा अमिर शेखको नेपाल भ्रमणको एजेण्डा ?

२०८१ वैशाख १० गते

के छ कतारी राजा अमिर शेखको नेपाल भ्रमणको एजेण्डा ?

काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले मंगलबारदेखि नेपालमा २ दिने औपचारिक भ्रमण गर्ने भएका छन् । मंगलबार र बुधबार हुने कतारी राजा अमिरको नेपाल भ्रमण पहिलोपटक हुन लागेको हो । अमिर शेख नेपालमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत विशिष्ट व्यक्तिसँग भेट गर्नेछन् ।

भ्रमणका क्रममा नेपाल र कतारबीच महत्वपूर्ण सम्झौता हुने बताइएको छ । कतारी विज्ञ प्रा.मोहम्मद रमजान अली मिया यो भ्रमणबाट नेपालले दुई देशबीच विकास साझेदारी लगायतका एजेण्डामा उल्लेख्य मात्रामा लाभ लिन सक्ने बताउँछन् ।

Advertisement:

Ad
Ad

कतारी प्रमुखको नेपाल भ्रमणका क्रममा कूटनीतिक कर्मचारीलाई तालिम दिने र कतार प्रहरीमा नेपालीलाई राख्ने विषयमा पनि सम्झौता हुने बताइएको छ । कतारले विशेषगरी नेपालको जलविद्युत,स्वास्थ्य,सञ्चार,सुरक्षा र रोजगारको क्षेत्रमा लगानी गर्न चाहेको मियाको भनाई छ ।

त्यस्तै यसपटक कतारबाट नेपालमा आउने सहयोग ‘कतार फन्ड फर डेभलेपमेन्ट’क्यूएफएफडी मार्फत आउने बताइएको छ । अमिरको नेपाल भ्रमण र भ्रमणका क्रममा हुने विविध सम्झौतापछि कतारले नेपालमा लगानी गर्ने बाटो खुल्नेछ ।

लगानी सम्मेलनको संघारमा खाडी मुलुककै प्रभावशाली मानिएका कतारी सरकार प्रमुख अमिर शेखको यो भ्रमणले लगानी सम्मेलनलाई समेत थप उर्जा प्रदान गर्ने विश्वास लिइएको छ ।